जाल्पा सामुदायिक लघुवित्तले २ करोड २८ लाख बोनस सेयर जारी गर्ने

दाङ, ५ असार ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले २ करोड २८ लाख रुपैया बोनस सेयर जारी गर्ने लघुवित्तको सोमवार बुटवलमा सम्पन्न चौथो साधारण सभाले २०७९ असार मसान्त सम्ममा कायम रहेको चुक्ता पुँजी १६ करोडको १४ दशमलब २५ प्रतिशत २ करोड २८ लाख बोनस सेयर जारी गर्ने निर्णय गरेको हो ।

यस्तै बोनस शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि २०७९ असार मसान्तमा कायम रहेको चुक्ता पुँजी १६ करोड रुपैयाको शून्य दशमलब ७५ प्रतिशत १२ लाख रुपैया लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय पनि गरेको छ । साधारण सभा पश्चात संस्थाको चुक्तापुँजी १८ करोड २८ लाख रहेको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष वीर बहादुर अधिकारीको अध्यक्षतामा भएको साधारण सभाले नेपाल राष्ट्र बैकबाट इजाजत पत्रप्राप्त “घ” वर्गको अन्य लघुवित्त वित्तीय संस्थाहरुसँग गाभ्ने (मर्जर) तथा प्राप्ती (एक्विजिशन) सम्बन्धमा आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।


संस्थाका प्रमुख कार्यकारी अधिकृत बिमला योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत अशोक कुमार आर्चायले गर्नुभएको थियो ।

‘स्वच्छ लघुवित्त हाम्रो अभियान, घर–घरमा उद्यम फैलाउ गरिबीलाई शून्य बनाउ, जल्पा सामुदायिकको लघुवित्तीय आधार सशक्तीकरण र स्वरोजगारीको पूर्वाधार’ भन्ने मूल नाराकासाथ बुटवलमा केन्द्रिय कार्यालय रहेर जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले सेवा दिईरहेको छ ।

संस्थाले सामुहिक जमानीमा बिना धितो कर्जा सेवा, धितो कर्जा सेवा, सदस्य सुरक्षण कार्यक्रम, ग्रामीण कर्जा÷पशु बिमा कार्यक्रम सेवा, एस.एम.एस र ट्याब बैकिङ सेवा, रेमिट्यान्स सेवा, बिउ बिजन/फलफुलका बिरुवा वितरण कार्यक्रम, सदस्य क्षमता अभिवृद्धि/व्यवसायिक तालिम, सदस्य सम्मान तथा प्रोत्साहन, वित्तीय साक्षरता कार्यक्रम, उद्यम विकास कार्यक्रममार्फत सेवाहरु प्रदान गरिरहेको छ ।