नागरिकता बनाउन कीर्ते कागज बनाएको आरोपमा वडाध्यक्ष र सचिव बिरुद्ध पक्राउ पूर्जी जारी

दाङ, ४ असार / नागरिकता दिलाउन कीर्ते कागज बनाएर सिफारिस गरेको आरोपमा दाङको एक वडाको वडाध्यक्ष र वडासचिव बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । राजपुर गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टन्क बहादुर बिष्ट र सोही वडाका वडा सचिब सन्तोष भण्डारीबिरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

इलाका प्रशासन कार्यालय लमहीबाट गत वैशाख  २८ गते विवेक बिकले  नागरिकता पाएका थिए। राजपुर गाउँपालिका ५ का वडाध्यक्ष टंकबहादुर विष्टको सिफारिसका आधारमा प्रशासनले विवेकको नाउमा नागरिकता जारी गरेको थियो । जिल्ला प्रशासन कार्यलय दाङले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि  वडा अध्यक्ष र सचिव सम्पर्कमा छैनन ।

नागरिकतामा उनको बाबुको नाम ज्ञानबहादुर बिक, आमाको नाम जोगिनी बिक र ठेगाना राजपुर गाउँपालिका वडा नम्बर ५ उल्लेख थियो । तर, एक महिना नबित्दै विवेक ज्ञानबहादुर र जोगिनीको छोरा नभएको सूचना पाएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।


अनुसन्धानकै क्रममा  विवेक  ज्ञानबहादुर र जोगिनीको नाति रहेको खुल्यो । विवेक,  ज्ञानबहादुर र जोगिनीका छोरी शोभाका छोरा रहेछन् । इलाका प्रशासन कार्यालय लमहीले जेठ २६ गते ज्ञानबहादुर र जोगिनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । एसपी बिरबहादुर वलिका अनुसार मुद्दा परेपछि विवेक र उनका हजुरबुवा पक्राउ परेका थिए । हजुरआमा जोगिनी  जेठ ३२ गते पक्राउ परेकी थिइन् ।

साक्षी बसेर झुटो बयान दिएर बिबेकलाई नागरिकता दिलाउन भूमिका खेल्ने मध्यका राजपुर – ५ का साबित्राकुमारी बिक, गौसरी बोहोरा, दुधीमाया घर्ती, रमेश घर्ती, मनकुमारी घर्तीलाई पनि प्रहरीले यसअघि नै पक्राउ गरेको एसपी वलिले जानकारी दिए ।

पक्राउ पूर्जी जारी भएपछि उनीहरु दुबै जना फरार भएको एसपी वलिले जानकारी दिए । उनीहरुको खोजी कार्य जारी रहेको पनि प्रहरीले बताएको छ । वडा अध्यक्ष बिष्ट एमालेबाट निर्बाचित जनप्रतिनिधि हुन ।