राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ वर्षपछि नर्सिङको पढाइ सुरु

दाङ, ३२ जेठ ।
स्थापना भएको करीव ५ वर्ष पछी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शैक्षिक कार्यक्रम सञ्चालनमा आउन थालेका छन् । यो शैक्षिक शत्रमा प्रतिष्ठानले विएससी नर्सिङ र विएनएस कक्षा सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले विहिवार एक औपचारीक कार्यक्रमको आयोजना गरी विधिवत रुपमा ती शैक्षिक कार्यक्रममा पठनपाठन सुरु भएको उद्घोष गरेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.विकाश लामीछानेको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको विशिष्ठ आतिथ्यमा शैक्षिक कार्यक्रम सञ्चालनको उद्घोष गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिष्ठान सिनेट सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालनमा आएको पाच वर्षमा नर्सिङ शिक्षाको कार्यक्रम सञ्चालन गरेकोमा खुसी व्यक्त गरे । साथै उनले यहाको उत्पादन गुणस्तरीय भएर सबै स्थानमा बिक्नेमा पनि उनले विश्वास व्यक्त गरे । ‘मलाइ विश्वास छ, यहाँ नर्सिङ पढाइकालागी भौतिक पुर्वाधारको राम्रो व्यवस्थापन छ, अनि यहां अध्यापन गराउने प्राध्यापकहरु पनि सक्षम र क्षमतावान हुनुहुन्छ, त्यसैले यहाँ अध्ययन पुरा गरेका विद्यार्थीहरुले सहजै रुपमा सबै क्षेत्रमा रोजगारी पाहुन सक्ने छन्’, समन्वय प्रमुख शर्माले भने ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै सिनेट सदस्य शर्माले चाडो भन्दा चाडो यहाँ एमविविएस शैक्षिक कार्यक्रम सञ्चालनको वातावरण मिलाउन पनि विश्वविद्यालय पदाधिकारी एवं स्थानिय सरकारलाई आग्रह गरे । एमविविएस कक्षा सञ्चालनकालागी आवश्यक पुर्वाधार तयार गर्न जग्गा व्यवस्थापन देखि आर्थिक व्यवस्थापनमा समेत आफुले स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारमा पनि आवश्यक समन्वय र सहजीकरण गर्ने पनि शर्माको अभिव्यक्ति थियो ।

केहि ढिलो भएपनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख तथा सिनेट सदस्य नरुलाल चौधरीले यो प्रतिष्ठानलाई स्वास्थ्य सेवा लगायत स्वास्थ्य क्षेत्रका जनशक्तिको उत्पादनको अव्वल क्षेत्र बनाउन आफ्नो निरन्तर प्रयास रहने बताए ।

विशिष्ठ अतिथि चौधरीले नयाँ भर्ना भएका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै पठन पाठन र बसोबासका सन्दर्भमा जुनसुकै समस्या आए त्यसमा स्थानिय सरकार, स्थानियबासी तथा सिनेट सदस्यकै हैसियतले पनि अहोरात्र सहयोग र सहजीकरण गर्ने पनि उनले आश्वासन दिए । ‘जे होस ढिलै भएपनि हामीले प्रतिष्ठानमा शैक्षिक कार्यक्रमको एउटा भ¥याङमा पाइला राखिसकेका छौं, अब एमविविएस, एमडि, एमडिजिपि लगायतका शैक्षिक कार्यक्रम सञ्चालनमा हाम्रो भावात्मक एकता र दक्ष कार्यकुशलता हुनुपर्दछ’, नगर प्रमुख चौधरीले भने ।

शैक्षिक कार्यक्रम सन्चालनको घोषणासभामा बोल्दै विश्वविद्यालयका शिक्षाध्यक्ष डा. वशन्त लामिछानेले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै सबैथोक औषधिले मात्र नहुने भएकाले बिरामीलाई चाडो निको बनाउन नर्सिङ स्टाफको भुमिका अपरीहार्य हुने बताए । ‘तपाइको हातले मुसार्दा र मिठो मुस्कान दिंदा पनि बिरामीको आत्मबल निकै बढ्न सक्छ, बिरामीको उपचारमा सबैथोक औषधि मात्रै होइन, रेक्टर लामीछानेले भने ।


सो अवसरमा प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले विद्यार्थिहरुलाइ ढुक्क भएर अध्ययन गर्न आग्रह गर्दै कुनै गुनासो भए मेट्रोन मार्फत रजिष्टर गराउन पनि विद्यार्थीहरुलाई आग्रह गरे । कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा.सागर पन्थीले यहाँको शैक्षिक गुणस्तरमा कुनै समस्या नहुने भन्दै गुणस्तरको विषयमा ढुक्क भएर पठनपाठनमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । पत्रकार गिरीराज नेपालीले प्रतिष्ठानको उननयनमा दाङका सबै सञ्चारकर्मिहरु प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ कोअर्डिनेटर प्रध्यापक अम्विका पौडेलले नर्सिङ शिक्षाका सन्दर्भमा विशेष प्रवेश तथा स्वागत मन्तव्य व्यक्त गरेकि थिइन् । ‘हामीले करीव एक वर्ष लगाएर गुणस्तरीय पाठ्यक्रम निर्माण गरेका छौं, हाम्रा उत्पादन पनि दक्ष एवं क्षमतावान हुनेमा हामी विश्वस्त छौं’, प्राध्यापक पौडेलले भनिन् ।

कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट शुमकामना मन्तव्य दिंदै विएससी नर्सिङ कक्षाकि विद्यार्थी सावित्रा बोहराले नर्सिङ शिक्षाकालागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्वालिटिमा आफु विश्वस्त भएको बताइन् । साथै दाङ जिल्लाको भौगोलिक बनोट तथा हावापानी पनि उपयुक्त र सुरक्षित रहेको आफुले बुझेर यहाँ अध्ययनकालागी आएको उनको अभिव्यक्ति थियो । उनी काठमाण्डौ उपत्यका छाडेर अध्ययनकालागी दाङ रोजेकि हुन् ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका प्रतिष्ठानका उपकुलपति डा.विकाश लामीछानेले अबको एक वर्षमा एमडिजिपि, एम डि तथा एमएस कक्षा सञ्चालनकालागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तयार रहेको बताए । यद्धपि एमविविएस कक्षा सञ्चालनमा भने अझै धेरै पुर्वाधारहरु तयार हुन बांकि रहेको पनि उनले बताए ।

अहिले प्रतिष्ठानमा आएको बजेटले प्रतिष्ठानले निर्माण गरेको गुरुयोजना अनुसार ४ सय वेडको ७ तलाको अस्पताल निर्माणको प्रक्रिया अघि बढाउने बताए । अस्पताल भवन निर्माण भैसकेपछि मात्र एमविविएस कक्षा सन्चालन हुन सक्ने उनको अभिव्यक्ति थियो ।

पहिलो पटक सुरु भएको नर्सिङ कक्षामा विएससी नर्सिङ तर्फ २० जना र विएनएस तर्फ २० जना विद्यार्थी भर्ना भएका छन् । हरेक शेसनमा १५ जना नेपाल सरकारको छात्रवृत्ति प्राप्त र ५ जना पेइङमा अध्ययन गर्ने छन् । विएससी नर्सिङ ४ वर्ष र विएनएस ३ वर्षको हुने छ ।