दंगीशरण गाउँपलिकाको सार्वजनिक सुनुवाई

प्रमोद आचार्य
दंगीशरण, २४ जेठ ।
दंगीशरण गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले बुधवार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । त्यस कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका चित्र स्वर्णकारले जनताले अपेक्षा गरे अनुरुप विकास निमार्णका कामले फड्को मार्न नसकेको तर्क गरे ।

त्यस्तै नेपाल पत्रकार महासंघ दाङकी सहसचिब दिप्तीशिखा चौधरीले पश्चिम दाङका स्थानीय तहहरु मिडियामुखी बन्न सकेको गुनासो गरिन । उनले स्थानीय तहले स्थानीय स्तरका मिडिया र पत्रकारलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै यसलाई सुधार गरि सुचना सम्प्रेशनलाई चुस्तदुरुस्त बनाउन आग्रह गरिन ।

अपांग सञ्जालको अध्यक्ष रोशन गिरीले अपांगता भएका व्यक्तीहरुको लागि सहायक सामाग्री र अपांगता परिचय पत्र वितरण कार्यलाई प्रभावकारी बनाउन सुझाव दिए । त्यस्तै ओरेक दाङका कार्यक्रम संयोजक पुजा चौधरीले गाउँपालिकाले हरेक गतिविधिको एकीकृत तथ्याङ्क राख्नुपर्ने बताइन । उनले महिला प्रजनन् स्वास्थ्य,किशोर–किशोरी मैत्री पालिका बनाउन विषेश योजनाहरु ल्याउन सुझाव दिइन ।

स्थानीयवासी एवं पत्रकार चेतन वलीले गाउँपालिकाले वडा–वडामा पुगेर नागरिकहरुका समस्या सुन्ने गरेता पनि कार्यान्वयन भने कम मात्रामा हुने गरेको तर्क गरे । उनले गाउँपालिकामा हुने हरेक विकास निमार्णका कामहरुको बाँडफाड पार्टीका आधारमा गरिने भन्दै त्यसलाई सुधार गर्दै सबैलाई समान व्यवहार गर्न सुझाए । उनले खेतीपातीको समय नजिकि रहेको बताउँदै सहज तरिकाले कृषकहरुको लागि रासायनिक मल व्यवस्था गर्न गाउँपालिकालाई आग्रह गरे ।


सहभागी पुर्ण भण्डारीले गाउँपालिकाको विकट क्षेत्र फुर्के शाल्लिमा बाँके राष्ट्रिय निकुञ्ज पर्ने भएकाले त्यहाँको वन्यजन्तुको नियन्त्रणको लागि सरकारको ध्यान नगएको गुनासो गरे । उनले वन्यजन्तुले गाउँलेहरुको बालिनाली नास गर्दिनाले बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको भन्दै त्यस तर्फ ध्यान केन्द्रित गराए । कार्यक्रममा सहभागी नबराज शर्मा पार्धेले व्यक्तीगत घटना दर्ता गर्दा वडाले महंगो शुल्क बाध्य भएको बताए । उनले पालिकाबाट निःशुल्क रुपमा यो सेवा सुरुवात गर्न सकेमा सबै नागरिकले सहज रुपमा सेवा पाउने अपेक्षा राखे । त्यस्तै सहभागी हिरा चौधरीले गाउँपालिकाले द्वन्द्वपीडितहरुको एकिन तथ्यांक संकलन गरि उनीहरुको लागि आर्थिक सहयोग–एकल भत्ता वितरण कार्यलाई अगाडी बढाउनुपर्ने बताइन ।

कार्यक्रममा गाउँपालिकावासीले विकास निर्माणका कार्यदेखी शिक्षा,स्वास्थ्य, कार्यालयको सेवा प्रवाह, लक्षित समुहले पाउने सेवा सुविधा नपाएको, वास्तविक किसानले कृषि कार्यक्रम नपाएको लगाएतका थुप्रै विषयवस्तुमा प्रश्नहरु गरेका थिए । उनीहरुको जिज्ञासा र प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष शम्भु गिरी,उपाध्यक्ष पिमा खड्का,कार्यालय प्रमुख सम्वन्धित शाखा प्रमुखहरुले दिएका थिए । उनीहरुले आफुहरु निर्वाचित भएर आईसकेपछि नागरिकको सेवामा तल्लिन भएर लागेको र आगामी दिनमा पनि छिटो छरितो सेवा प्रवाहमा लाग्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले सहभागीहरूसँग गोप्य गुनासा तथा सुझाव सङ्कलन,गुनासा तथा सुझावहरूको सम्बन्धित सरोकारवालाहरूबाट जवाफ,खुल्ला सुनुवाईको माध्यमबाट सहभागीहरू सरोकारवालाहरूसँग सिधा प्रश्न,सोधिएका प्रश्नहरूको सरोकारवालाहरूबाट जवाफ गुनासा, सल्लाह तथा सुझावहरूको टिपोट र प्रतिवेदनको तयारी बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस सल्लाहाकार प्रमोद आचार्यले गरेका थिए ।