दाङमा चार सय ६५ मतदान केन्द्र : ६१ को नेतृत्व महिलालाई

दाङ, २८ कात्तिक ।
दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं. १ मा २४, क्षेत्र नं. २ मा १७ र क्षेत्र नं. ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो ।

क्षेत्र नं. १ मा एक सय ५२, क्षेत्र नं. २ मा एक सय ४६ र क्षेत्र नं. ३ मा एक सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताए। त्यस्तै जिल्लामा एक सय ५३ मतदान स्थल छन् ।


जिल्लाका तीन निर्वाचन क्षेत्रमा मात्रै तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् भने पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सामग्रीसमेत जिल्लामा आइसकेको निर्वाचन अधिकारी भण्डारीले बताए ।