सल्यानको बागचौरमा महायज्ञ सुरु

सल्यान, १५ जेठ ।
सल्यानको बागचौरमा श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण सुरु भएको छ । बागचौरमा जेष्ठ नागरिकको भवन निर्माणका लागि श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण आयोजना गरिएको हो ।

बागचौर नगरपालिकाको आर्थिक सहयोग र ज्येष्ठ नागरिक सेवा समाज नेपाल बागचौर नगर कार्यसमितिको आयोजनामा आइतबारदेखि सुरु भएको श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण जेठको २० गतेसम्म सञ्चालन हुनेछ ।

जेष्ठ नागरिक सेवा समाज नेपाल जिल्ला समिति सल्यानले ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण गर्ने उद्देश्य राखी बागचौर नगरपालिकाको आर्थिक सहयोगमा श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण लगाउन थालिएको हो । यसका साथै धर्म संस्कृतिको रक्षा गर्ने र सल्यानको सुन्दर बागचौर नगरपालिकाको पहिचान गराउने उद्देश्य राखिएको बताइएको छ ।


विभिन्न धार्मिक कार्यक्रमहरु सहित धर्म प्रचार प्रसारमा बालक अवस्था देखि नै लाग्नु भएका नेपालकै प्रथम सुर्यपाकी बाल यूवा सन्त परम तपस्वी परम् बिरक्ति विशिष्ट विद्वान स्वामी केशवाचार्यले श्रीमद् भागवत सप्ताह पूराण कथा वाचन गरिरहनुभएको छ । कार्यक्रम बागचौर नगरपालिका वडा नं. २, बागचौरस्थित सेवा केन्द्र रहेको स्थानमा संचालन भएको छ ।

यसैबीच जेष्ठ नागरिक सेवा समाज बागचौरले महायज्ञमा सहभागी भएर कथा श्रवण गरि पूण्य आर्जन एवं टिका प्रसाद, पञ्चामृत ग्रहण गर्नुका साथै आफू स्वेच्छिक दान गर्नका लागि बागचौर लगायत पाएक पर्ने ठाउँका सम्पुर्ण आमा–बुबा, दाजुभाइ तथा दिदिबहिनी सम्पुर्णलाई निमन्त्रणा गरेको छ ।