विद्यालयमा राजनीति

पछिल्लो समय विद्यालयमा राजनीतिको झल्को दिने गरि गतिविधिहरू बाहिर आएका छन् । केही दिन अघि तुलसीपुर–४ रक्षाचौर स्थित गुरूजजुर माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले पढाई रहेका दुई शिक्षक माथि नै कुटपिट गरे । विव्यस अध्यक्ष एमाले निकट थिए, भने शिक्षक माओवादी र काँग्रेस निकट थिए । त्यहाँ बरियताका विषयमा विवाद हुँदा अध्यक्षले कुटपिट गरे । त्यो विद्यालयमा राजनीतिको झल्को दिने एक दृष्टान्त हो । जसले गर्दा विद्यार्थीमा निकै असर परिरहेको छ । त्यस्तै दंगीशरण गाउँपालिका वडा नं.६ स्थित सिद्ध पृथ्वी जनता माध्यामिक विद्यालयमा पनि त्यस्तै समस्या छ । विद्यालय व्यवस्थापन समितिमा एमालेको बर्चश्व छ, भने पालिकामा काँग्रेसको नेतृत्व छ ।

त्यहाँ पनि ‘जुँगाको लडाई’ देखिएको छ । केही समय अघि विव्यसले विद्यालयका चौथो बरियताका शिक्षकलाई निमित्त प्रधानाध्यापकको नियुक्ती गरे । त्यो कुरा काँग्रेस निकट शिक्षकहरूलाई मन परेको थिएन । त्यसपछि प्रथम बरियताकै शिक्षक बाबुराम अधिकारीले राजीनामा समेत दिए । यो कुरा पालिकालाई थाहा भएपछि उसले राजीनामा फिर्ता लिन लगाएर, उल्टै निमित्त प्रअ नियुक्ती गरेर पठायो र त्यसले विरोध सिर्जना ग¥यो । त्यसको प्रभाव विद्यार्थीमा प¥यो । त्यही कारणले शिक्षकले पठन–पाठन नगराएपछि विद्यार्थी अहिले धर्नामा छन्, भने शिक्षकहरू चियापसलमा गफ चुटिरहेका छन् ।


यी त केही उदाहरण मात्रै हुन् । पछिल्लो समय सरकारी विद्यालयमा ब्याप्त राजनीतिले गर्दा गुणस्तर खस्किदै गएको छ, भन्ने प्रमाण पछिल्लो समय भौतिक रूपमै देखिने यस्ता गतिविधिले देखाउछ । शिक्षक कुनै न कुनै राजनीतिक दल तथा संगठनमा आबद्ध छन् । विद्यालयमा सानो केही समस्या भएपनि त्यो कुरा मन्त्री,प्रधानमन्त्रीसम्म पुग्छ । यसरी सत्ता र शक्तिको आडमा शिक्षक हुने र त्यसकै बलमा शिक्षकहरूले मनपरि गर्दा सरकारी शिक्षा ध्वस्त हुँदै गएको कुरालाई नकार्न सकिदैन । शिक्षक सेवाको तयारी गर्दा जति मेहनत गरिन्छ, त्यतिकै मेहनत विद्यालयमा गरे, सरकारी विद्यालयको स्तर धेरै माथि पुग्ने आँकलन पटक–पटक हुने गर्छ । तर, जागिर सुरू गरेपछिको हेल्चेक्र्याई र दम्भले गर्दा पनि अहिले निकै समस्या हुने गरेको छ । केही राम्रा सरकारी विद्यालय पनि छन् । विद्यार्थी फालाफाल छन्, भने गुणस्तर पनि उस्तै छ । तर, अधिकास सरकारी विद्यालयको हालत हेर्दा लाज लाग्दो छ ।

शिक्षा जस्तो पबित्र ठाउँमा राजनीति हुनु हुँदैन, भने शिक्षकले कुनै पनि राजनीतिक दलको झोला बोक्न दिनु हुँदैन । काम नगर्ने शिक्षकलाई कुनै नेता तथा शक्तिले संरक्षण पनि गर्नु हुँदैन, त्यसो हुन सकेमा मात्रै पनि सरकारी शिक्षा क्षेत्र धेरै सुधार हुन सक्छ, यस तर्फ ध्यान दिन आवश्यक छ । साभारः अग्रिम साप्ताहिक