‘सीमान्त गुरु’लाई दाङमा प्रशासनको रोक

तुलसीपुर, ७ जेठ ।
तुलसीपुरमा ज्योतिष सिमान्त केसीले आयोजना गरेको कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित त्रिशेद्धेश्वरी मन्दिरमा सर्वसाधारणलाई भेट्ने गरी कार्यक्रम बनाइएकोमा प्रशासनले रोक लगाएसँगै स्थगित भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार ‘सीमान्त गुरु’ उर्फ भरत भट्टराईलाई कार्यक्रम गर्न रोक लगाएसँगै उनी नेपालगञ्ज तर्फ गएका छन् ।


दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले उपचार गराउने बहानामा सार्वजनिक स्थलमा कार्यक्रम गरिएकाले अनुमति दिन नसकिएको बताउनुभयो । ‘निजी होटल वा अन्य कुनै ठाउँमा कार्यक्रम गरे आपत्ति हुँदैन भनेका हौं’ उहाँले भन्नुभयो, ‘सार्वजनिक स्थलहरूमा त्यस्ता कार्यक्रमहरू गर्न पाइँदैन भनेर फर्कायौँ ।’

काठमाडौंको तारकेश्वर नगरपालिका –७ स्थित ज्योतिष केन्द्र पनि यसअघि भिडभाड बढेको भन्दै बन्द गराइएको छ । अलौकिक मनोवैज्ञानिक क्षमताका ज्योतिष भएको दाबी गर्ने केसी आएको खबर पाएसँगै मानिसहरूको भिडभाड बढेको थियो ।