घोराही–तुलसीपुर चारलेन ठेक्का तोडिएपछि मर्मत गर्न बजेट

दीपक बोहरा,
तुलसीपुर,३ जेठ ।
दाङको घोराही–तुलसीपुर ४ लेन सडकको ठेक्का तोडिएपछि सोही सडकमा परेका खाल्डाखुल्डी मर्मत गर्नकालागि टेण्डर आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय दाङले ३ करोड ९ लाख ५० हजारको टेन्डर आह्वान गरेको छ । सोही सडकमा देखिएका खाल्डाखुल्डीले दुर्घटना बढिरहेको भन्दै तत्काल मर्मत गर्नुपर्ने भएकाले मंगलबार सूचना जारी गरिएको कार्यालय प्रमुख गुरु प्रसाद अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार दुई खण्डमा काम हुनेछ । घोराहीको कुइरेपानी हुँदै तुलसीपुरसम्मको २९ किलोमिटर सडक बीचमा परेका खाल्डाखुल्डी पुर्ने कार्य हुने उहाँले बताउनुभयो । उक्त कार्य असोजसम्म सक्ने गरि सम्झौता हुनेछ ।“हामीले अहिले टेन्डर खोलेका छौं”,उहाँले भन्नुभयो“असोजसम्म विग्रिएको सडक मर्मत गरि सक्ने गरि सम्झौता हुनेछ ।” चारलेन कार्य अलपत्र हुँदा बीच–बीचमा खाल्डाखुल्डी छन् । जसले गर्दा आवतजावतमा समस्या हुनुका साथै दुर्र्घटना बढिरहेका छन् ।

त्यसको चौतर्फी आलोचना पछि ठेक्का रद्दको प्रक्रिया अघि बढेको थियो । ठेकेदार नै सम्पर्कमा नआएपछि ठेक्का रद्द गरिएको चारलेन परियोजना कार्यालय लमहीका सूचना अधिकारी कृष्टिना थापाले बताउनुभयो । उहाँका अनुसार अब पुनः डिपीआर गरेर मात्रै काम अघि बढ्ने छ ।“नेपाल सरकारले नै बजेट हालेर आफै पनि काम गर्न सक्छ”,उहाँले भन्नुभयो“भारतीय एक्जिम बैंकले बजेट दिएपनि अहिले जस्तो समस्या नआउने गरि सहमति गरेर काम गर्ने पनि हुन सक्छ, त्यो सरकारको कुरा भयो ।”

चारलेन ठेक्काको पटक–पटक गरि चौथो पटक म्याद थप गरिएको थियो । त्यो अबधी २०८० असारसम्म थियो । तर, त्यो अबधीमा ठेक्का लिएको कम्पनीले काम गर्न सक्ने सम्भावना कम रहेकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढेको थियो । चारलेनको ठेक्का भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राले लिएको थियो । उक्त कम्पनीले पेटी ठेकेदार मार्फत काम गर्दै आएको थियो ।

यो बीचमा ८ जना पेटी ठेकेदारलाई काम दिएको भएपनि निर्माण सुरु भएको ५ बर्षसम्म पनि १० प्रतिशत भन्दा बढि काम हुन सकेको छैन । जसले गर्दा यस क्षेत्रका जनप्रतिनिधि, बिभिन्न संघसंस्था तथा राजनीतिक दलले समयमा काम गर्न दवाव दिएका थिए । यदि काम गर्न नसके ठेक्का तोड्नु पर्ने माग राख्दै आएका थिए । पटक–पटक जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला समन्वय समितिको पहलमा छलफल भइरहेका थिए ।


पटक–पटक ठेकेदार कम्पनीलाई तोकिएको अबधीमा काम सक्ने गरि लिखित कार्यतालिका र प्रतिबद्धता पेश गर्न परियोजना कार्यलयले सूचना जारी गरेको थियो । त्यसबीचमा ठेकेदार कम्पनीले लिखित र मौखिक प्रतिबद्धता जनाएपनि काम हुन सकेको थिएन ।

यसरी परेको थियो अलपत्र ..
घोराही–तुलसीपुर चारलेनको काम २०७५ माघदेखि सुरु भएको हो । ३० महिनामा काम सक्ने गरि सम्झौता भयो । तर, चौथो पटक म्याद थप भइसक्दा पनि काम अघि बढ्न सकेन । सुरुमा २०७८ जेठ ६ गते भित्र काम सक्नु पर्ने सहमति थियो । तर, त्यो अबधीमा काम सक्ने त टाढाको कुरा ६ प्रतिशत भन्दा बढि प्रगति हुन सकेन ।

त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरि पहिलो पटक, २०७८ पुस २८ गते सक्ने गरि दोस्रो पटक म्याद थप भयो । तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ बैशाख २९ गते सक्ने गरि म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशत भन्दा बढि काम हुन सकेन् । त्यसपछि खरिद ऐनको १२ औं संशोधनले चौथो पटककालागि २०८० असारसम्म स्वतः म्याद थप गरेको थियो । तर, त्यो अबधीमा काम सक्ने अबस्था नदेखिएपछि ठेक्का रद्द गरिएको हो ।

सोही सडक सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाए । त्यसपछि पुनः अनुप पाण्डे आए । उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का,विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए । उनीहरुबाट पनि काम हुन नसकेपछिे सुनिलजंग रायमाझी आएका थिए । उनले पनि काम गर्न सकेनन् ।

भारतीय एक्जिम बैंकको सहयोगमा चारलेन सडक भ्याट सहित १ करोड २१ लाख ८२ हजार तीन सय १ रुपैँया अमेरिकी डलर ( नेपालीमा १ अर्ब २३ करोड ) मा निर्माण हुन लागेको थियो । भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रजेक्टले त्यसको ठेक्का पाएको थियो । तर, उसले बिभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने गरेको थियो ।