टरिगाउँ एयरपोर्ट प्रदेश र स्थानीय सरकार मिलेर बनाउछौंः मुख्यमन्त्री चौधरी

दीपक बोहरा,
तुलसीपुर, २५ वैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङको तुलसीपुर १२ स्थित टरिगाउँ विमानस्थललाई स्थानीय र प्रदेश सरकारले बनाउने बताउनुभएको छ । सोमबार विमानस्थल विस्तारकालागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आजैदेखि काम अघि बढेको समेत बताउनुभयो ।“एयरपोर्ट  बनाउन आजैदेखि सुरु भयो”,उहाँले भन्नुभयो“हामी संघीय सरकारसंग पनि अनुरोध गछौं, यस अघि पनि पटक–पटक भनिरहेका छौं, नत्र यो एयरपोर्टको इनिशेसन प्रदेश सरकारले लिन्छ ।”

यस अघि एयरपोर्ट निर्माण गर्ने ठेकेदारसंग पुनः कुराकानी भएको भन्दै ७० करोडमै १६ सय मिटर लम्बाई हवाई मार्ग विस्तार गर्न सकिने मुख्यमन्त्री चौधरीले बताउनुभयो ।“ नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर प्रदिप अधिकारीले यस अघि सोही एयरपोर्टको इन्जिनियरिङ गर्दा ९ अर्ब लाग्ने भन्नु भएको थियो”, मुख्यमन्त्री चौधरीले भन्नुभयो“तर, ७०÷७२ करोडमै काम गर्न सकिने गरि कुराकानी भएकाले त्यही अनुसार काम अगाडी बढ्छ ।”

हाल रहेको ७५० मिटर धावन मार्गलाई विस्तार गरि १६ सय मिटर बनाउनकालागि कपास विकासको जग्गा भए पुग्ने समेत उहाँले बताउनुभयो । उहाँका अनुसार त्यहाँ रहेको मन्दिर र खानेपानी ट्याङकी हटाउनकालागि पनि सम्बन्धितलाई निर्देशन दिइसकेका छन् । त्यो हटाउन लाग्ने खर्च प्रदेश सरकारले उपलब्ध गराउने मुख्यमन्त्री चौधरीले बताउनुभयो ।“महेन्द्रनगरमा पनि उद्योग बाणिज्य संघ, प्रदेश सरकार, स्थानीय सरकार मिलेर विमान बनाईरहनु भएको छ”,उहाँले भन्नुभयो“हामी पनि त्यहाँको अभ्यास अनुसार काम गर्छौं ।” साथै केही घरहरु भत्काउनु पर्ने अबस्था आएमा ति घरहरु पनि भत्काउने मुख्यमन्त्री चौधरीले बताउनुभयो ।


त्यस असरमा विनाविभागिय मन्त्री धनबहादुर मास्कीले टरिगाउँ एयरपोर्ट प्रदेशकै गौरव र इतिहास बोकेको एयरपोर्ट रहेको बताउनुभएको छ । सोही एयरपोर्ट विस्तारकालागि प्रधानमन्त्री र पर्यटन मन्त्रीसंग पनि कुराकानी भइसकेको भन्दै केन्द्रीय सरकारले पनि अहिले चासो दिएको बताउनुभएको छ । आगामी बजेटमा एयरपोर्ट विस्तारकालागि बजेट बिनियोजन हुने समेत मन्त्री मास्कीले बताउनुभयो ।

टरिगाउँ एयरपोर्टमा हाल सीता एयर र नेपाल एयरलाईन्सले उडान भरिरहेका छन् । २०११ सालमा उक्त एयरपोर्ट स्थापना भएको हो । यो बीचमा कहिल्यै खुल्ने र कहिल्यै बन्द हुने क्रम चलिरहेको थियो । निजि क्षेत्रको पहलमा पनि एयरपोर्ट सञ्चालनको पहल भएको थियो ।