तुलसीपुर १२ का शिक्षकलाई क्षमता विकास तालीम

तुलसीपुर, २२ वैशाख । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ भित्रका बाल विकास तथा प्राथमिक तहका शिक्षकहरूकालागि क्षमता बिकास तालिम सुरू भएको छ । वडा नं. १२ को आयोजनामा शुक्रबारदेखि सुरू भएको तालिम ४ दिनसम्म चल्ने छ ।

वडाध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्य एवं उपप्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि खड्काले शिक्षा क्षेत्र सुधारकालागि शिक्षकहरु सक्रिय बन्नु पर्ने बताएका थिए । मान्छेमा निजि विद्यालयमा पढाउनु पर्छ भन्ने भावनाले पनि सरकारी विद्यालयहरु सुक्दै गएको उनले बताए । त्यसकालागि शिक्षकहरुले पनि समय सान्दर्भिक क्षमता विस्तार गर्न आबश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा उपप्रमुख चौधरीले ५० प्रतिशत बजेट शिक्षामै लगानी भएपनि त्यसको उपलब्धी नभएको बताइन् । उनले सरकारी शिक्षकले आफूले गौरव गर्ने गरि शैक्षिक स्तर बृद्धि गर्न पनि आग्रह गरेकी थिइन् ।


वडा सदस्य शेसमणी भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले शिक्षामा लगानी धेरै भएपनि त्यसको प्रतिफल खस्किदै गएको बताएका थिए । यही अबस्थामा रहे सामुदायिक विद्यालय‘डाइनोसर’ जसरी लोप हुने अबस्था आउने समेत उनको भनाई थियो ।

कार्यक्रमको सहजीकरण वडा सचिब वडा सचिब गणेश आचार्यले गरेका थिए ।
तालिमको प्रशिक्षकमा उपमहानगरपालिकाका शिक्षा अधिकृत मनबहादुर खड्का, शिक्षक टंक केसी,पूणर् डाँगी, तुला बस्नेत रहेका थिए ।