दर्शनको परिभाषा, महत्व र संरचना

आजाद खड्का
“ पृथ्वीमा भीमकाय हिंसक जनावरहरू प्रशस्त मात्रामा थिए । तिनका हातखोरहरू अहिले पनि उत्खननबाट प्राप्त हुदैछन् । ठुलो बथानमा बस्दा आहारको समस्या हुने भएकोले मानिसहरू साना–साना बथान बनाएर बस्दथे । बनका कन्दमुल र फलफुल खाएर बाँच्दथे। ”
(क) परिचय
मानव जातिको इतिहाँस संघर्षबाट अघि बढेको छ । आज सम्मको मानिसको जीवनको इतिहाँस संघर्षको इतिहास हो । आदिम समाजको मानवजातिले प्रकृतिसंग भीषण संघर्षको वातावरणमा बाच्नु परेको थियो । पृथ्वीमा भीमकाय हिंसक जनावरहरू प्रशस्त मात्रामा थिए । तिनका हाडखोरहरू अहिले पनि उत्खननबाट प्राप्त हुदैछन् । ठुलो बथानमा बस्दा आहारको समस्या हुने भएकोले मानिसहरू साना–साना बथान बनाएर बस्दथे । बनका कन्दमुल र फलफुल खाएर बाँच्दथे ।

मानव जीवनको रक्षा तथा कविलाई समुहको रक्षाका खातिर त्यतिबेला ढुंगा र लौरो नै मानिसको पहिलो हतियार थियो । मान्छेले विभिन्न संघर्षबाट थुप्रै कुराहरू पत्ता लगायो । आदिम समाजका मानिसको जीवनमा आगोको आविष्कारको ठुलो भुमिका छ । इतिहास पढ्दा आगोको आविस्कारकै फलस्वरूप मान्छे अन्तिम रूपले पशुजगतबाट भिन्न हुन पुगेको पाउछौं । प्रकृतिमा हुरी बतास किन चल्र्छ ? कहिले वर्षा कहिले खडेरी किन लाग्र्छ ? मानिसको जीवनमा कहिले जाडो र कहिले गर्मी हुनुको कारण के हो ? सुर्य उदाय पछि उज्यालो र अस्ताय पछि अँधेरो किन हुन्छ ? पृथ्वीमा भूईचालो किन जान्छ । नदी नालाहरूमा ज्वारभाटा आउनको कारण के हो ? वर्षासंगै चट्याङ किन पर्छ वा असिना किन झर्छ ? यी र यस्तै कुराहरूले मानिसको मनमा विभिन्न खाले प्रश्नहरूको जन्म भयो ।

मानव जातिमा विभिन्न महामारीहरू फैलियो । रोग व्याधले मानिसहरू आक्रान्त भए र उनीहरूको जीवनमा ठुला–ठुला घटनाहरू घट्न थाले । यी नै घटनाहरूको कारण खोज्ने क्रममा र मानिसको जीवनमा उठेका तमाम प्रश्नहरूको उत्तर खोज्ने क्रममा तथ्य र तर्कको विकास हुदै जाँदा दर्शनको जन्म भएको हो । मानिसको जीवनमा आईपरेका समस्याहरूसंग जुध्ने एवं संघर्ष गर्ने र त्यसको हल खोज्ने क्रममा दर्शन जन्मिनुका साथै संघर्षकै क्रममा त्यसको विकास पनि भएको हो । खासगरी मानिसको जीवनमा आईपरेका समस्याहरूको समाधान खोज्ने क्रममा मानव जातिले गरेको तर्क र तथ्यको विकास नै दर्शको परिचय हो । दर्शनका बारेमा माओ भन्छन् – “दर्शन भनेको ज्ञान सिद्धान्त बाहेक अरू केहि होईन।”

(ख) परिभाषा :
दर्शन शब्द संस्कृत भाषाको दृश धातुबाट बनेको हो जसको अर्थ हेर्नु तथा बुझ्नु भन्ने हुन्छ । अंग्रेजीमा यसलाई एजष्ष्कियउजथ भनिन्छ जसमा दुई शब्द एजष्यिक र क्यउजथ को मिलन छ । एजष्यिक को शाब्दिक अर्थ प्रेम र क्यउजथ को अर्थ विवेक हुन्छ । यसरी संस्कृत भाषाको शाब्दिक अर्थलाई लिँदा दर्शन भनेको कुनै कुरालाई हेर्ने र बुझ्ने सवाल हो भन्ने बुझिन्छ भने अंग्रेजीको शाब्दिक अर्थलाई लिँदा यो भनेको बौद्धिक ज्ञानप्रतिको अभिरूचि भन्ने बुझिन्छ । तर दर्शनको परिभाषालाई शाब्दिक अर्थमा सीमित गर्नु उपयुक्त हुँदैन ।

दर्शन जीवन र जगतलाई हेर्ने आँखा हो । दर्शन भनेको मानिसको विश्व दृष्टिकोण हो । विश्व दृष्टिकोण भनेको विश्वप्रतिको दृष्टिकोण–विश्व जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो । दर्शनलाई प्रकृति, जीवन, समाज र चिन्तनको विकासका चालक नियमहरूको अध्ययन गर्ने शास्त्र र पद्धति हो । दर्शन मानव चेतनाका रूपहरूमध्ये एक हो ।

दर्शनशास्त्र भनेको प्रकृति मानव समाज र मानवीय चिन्तनको विकासका नियमको विज्ञान हो । यसले जीवन ज्योती प्रदान गर्दछ । जुन जीवन ज्योती जीवन र जगतलाई बुझ्ने र बदल्न सक्ने मानिसको भित्री आँखा हो । दर्शनलाई प्लेटोले–“दर्शन सत्य सम्बन्धी दृष्टिकोण (खष्कष्यल या तचगतज) भनेका छन् । ब्रट्राण्ड रसेलले – “दर्शनशास्त्र विज्ञान र धर्मशास्त्र बिचको विषय” हो भनेका छन् । स.राधाकृष्णन्ले–“दर्शनशास्त्र जगतको विषयबोध गर्ने मानव प्रयास हो” भनेका छन् । हिरियन्नाले –“दर्शनशास्त्र चिन्तन पद्धति मात्र नभई जीवन पद्धति पनि हो” भनेको छन् । मोरिस कन्फोर्थले – “प्रत्येक दर्शनले एक विश्वदृष्टिकोण अभिव्यक्त गर्दछ” भनेका छन् ।

जर्मन शास्त्रीय दार्शनिक हेगेलले –दर्शन सत्यको वस्तुवादी विज्ञान (इदवभअतष्खभ कअष्भलअभ या त्चगतज) हो भनेका छन् । एङ्गेल्सले दर्शन भनेको “चिन्तन र सत्ताको सम्बन्ध हो” भनेका छन् । यहाँ सत्तालाई राजनीतिक शक्तिका रूपमा लिइएको छैन । सत्ता भनेको विश्वको अस्तित्व हो जस अन्तर्गत प्रकृति र समाज पर्दछन् (किरण, २०६७ः ५) । एङ्गेल्सको यो परिभाषा समय सान्दर्भिक देखिन्छ किनभने चिन्तन र सांसारिक अस्तित्वको सम्बन्ध भएपछि मानिसले जगतमा विद्यमान वस्तु र पदार्थको एकत्व, जगत्को विकासका नियमहरू, तिनको चरित्र, जगत्को ज्ञान सम्बन्धी सारतत्व र बाटाहरू पहिल्याउन सक्छ । माक्र्सले –“हरेक सच्चा दर्शन आफ्नो युगको उच्चतम बौद्धिक सारतत्व हो भनेका छन् ।”

(ग) महत्वः
जीवन र जगतलाई बुझ्न र बदल्न सक्ने भएकोले दर्शनको महत्व छ । दर्शनले समाजमा सक्रिय भुमिका निर्वाह गर्दछ र समाजलाई एकता उल्लेखनिय हद सम्म प्रभाव पार्ने हुनाले यसको महत्व छ । दर्शनले विश्व कस्तो छ र यसको चिन्तन र परिवर्तन कसरी गर्न सकिन्छ ? भन्ने प्रश्नको हल खोज्ने भएकोले यसको महत्व छ ।
(घ) निश्कर्ष :
समाज (जनता)लाई बाटो देखाउनु जनतालाई क्रान्ति परिवर्तन र मुक्तिको बाटो देखाउनु दर्शनको काम हो । दर्शनको अन्तिम काम जनसमुदाएको सेवा गर्नु भएकोले यसको महत्व धेरै छ । “दार्शनिकहरूले संसारको ब्याख्या मात्र गरेका छन् । मुख्य कुरा त्यसलाई बदल्नु हो” (कार्ल माक्र्स फायरबाखमाथि निबन्ध) “क्रान्तिकारी सिद्धान्त विना क्रान्तिकारी आन्दोलन हुनै सक्तैन” (लेनिन–अब के गर्ने ? पेज २८) “कुनै पनि दर्शनले समकालिन कार्यभारको सेवा गर्दछ।” (माओ–शोभियत अ.शा को आलोचना हिन्दी)


“इतिहाँसका निर्माता जनसमुदाय हुन्, जनसमुदायले आफ्नो उत्पादनको निम्ति संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगका क्रममा जुन अनुभव हाँसिल गरेका हुन्छन् । त्यसैको संश्लेषण भएको हुनाले दर्शन जनताको लागि धेरै महत्वपूर्ण विषय हो” (प्रचण्ड–छानिएका अन्तरवार्ता–२०५५)

(ङ) दर्शनका तीन पक्ष
दर्शनका तीन पक्ष छन् । जस अनुसार पहिलो तत्वमीमांसा, दोस्रो ज्ञान मीमांसा र तेस्रो आचारमीमांसा रहेका छन् । मीमांसा भनेको एक प्रकारको समिक्षा हो । यसको प्रयोग सामान्यतः अन्यत्र भएपनि विशिष्टीकरण गर्ने काम जैमिनिले गरेका हुन । उनको दर्शनलाई पूर्वमीमांसा वा मीमांसा दर्शन भनिन्छ । तर, दर्शनशास्त्रमा मीमांसा–पक्ष र प्रतिपक्षको भेदलाई परिभाषित गर्ने दार्शनिक विवेचनाको अर्थमा प्रयोग गरिन्छ । दर्शनशात्रमा मीमांसाको प्रयोग दर्शनको अध्ययनका शाखाहरूका रूपमा गरिन्छ । ति तिन शाखाहरूका बारेमा यसरी व्यक्त गर्न सकिन्छ ।

१. तत्व मीमांसाः
तत्वमीमांसा भनेको जीवन र जगत सम्बन्धी मान्ता हुन्छन् । मीमांसाका तिन शाखा तत्व मीमांसा, ज्ञान मीमांसा र आचार मीमांसालाई दर्शनको संरचना पनि भनिन्छ । दर्शन शास्त्रका तिन शाखा मध्य तत्वमीमांसा मुख्य शाखा हो । यसले जीवन र जगतको उत्पत्ति कसरी भएको हो भनेर अध्ययन गर्दछ । यसले पदार्थको प्राथामिकता, पदार्थको स्वगतिशिलता, सत्ताको अद्धैत्तता तथा भौतिकता, ईश्वर वा कुनै अलौकिक शक्तिको निषेध गर्दछ ।

पदार्थ र यसको गतिका बारेमा द्वन्द्वात्मक भौतिकवाद र आदर्शवाद बिच भिन्न मान्यता रहदै आएका छन् । द्वन्द्वात्मक भौतिकवादले पदार्थ र यसका गतिका नियमहरूको भौतिकवादी कोणबाट विवेचना गर्दछ भने आदर्शवादले पदर्थको अस्तित्व र गति कुनै अलौकिक वा ईश्वरीय शक्तिमा खोज्ने गर्दछ । तत्वमीमांसाले तत्वको उत्पत्ति, आदी र अन्त्य, तत्व र यसको सञ्चालन, तत्व र चेतनाको सम्बन्ध र प्रभाव लगाएतका विषयमा अध्ययन गर्ने गर्दछ ।

२.ज्ञान मीमांसाः
ज्ञान मीमांसामा ज्ञान र ज्ञान प्राप्ति सम्बन्धी मान्यता हुन्छन् । यसले चेतना वा ज्ञानको दार्शनिक अध्ययन गर्दछ । यो दार्शनिक संरचना वा शाखा मध्येको दोस्रो शाखा हो । यसलाई हामीले ज्ञान दर्शन पनि भन्ने गरेका छौं । ज्ञान मीमांसामा पनि भौतिकवाद र आदर्शवाद बिच भिन्नता छ । विचार वा ज्ञानको स्रोतको रूपमा भौतिक संसार, सत्ता र चेतनाको एकरूपताको प्रश्न, भौतिक जगतलाई बुझ्ने र बदल्ने प्रश्न यो भित्रका मुख्य प्रश्न हुन । यसले ज्ञान के हो ? ज्ञानको स्रोत के हो ? ज्ञानको उत्पत्ति, विकास र अन्त्य कसरी भयो र हुन्छ? ज्ञानका संभावनाका आधारहरू के रहेका छन् । ज्ञान कसरी हाँसिल गर्न सकिन्छ र यसो स्रोत र प्रक्रिया के हो? मानिसले ज्ञान प्राप्त गर्ने सिमा कति छ ? जस्ता प्रश्नहरूको उत्तर खोज्ने काम ज्ञान मीमांसाले खोज्ने गर्दछ ।

हरेक कुराको कारण खोज्ने हुदा यसलाई प्रमाण मीमांसा पनि भन्न सकिन्छ । मानिसले आफुले प्रस्तुत गरेका विषय वस्तुहरूलाई प्रमाणित गर्न प्रमाणहरूको खाँचो हुने हुदा दर्शनको क्षेत्रमा पनि प्रमाणशास्त्रको त्यतिकै महत्व हुन्छ । दर्शनको आफ्नै प्रकृतिअनुसार प्रमाणहरू पनि फरक–फरक हुने र हाम्रो दर्शन भौतिकवादले प्रत्यक्षलाई प्रमाण मान्दछ । प्रत्यक्ष प्रमाण नभेटिएको अवस्थामा अनुमान पनि एउटा प्रमाण हो । आदर्शवादी अध्यात्मवादी दर्शन र द्वन्द्वात्मक भौतिकवादी दर्शनमा पनि भिन्नता रहि आएको छ । अध्यात्मवाद–आदर्शवादले धर्मशास्त्रमा जे जे उल्लेख गरिएको छ त्यसैलाई मात्र प्रमाण मान्दछन् भने द्वन्द्वात्मक भौतिकवादीहरूले विज्ञानद्वारा प्रमाणित भएका कुरालाई मात्र प्रमाण मान्दछन् ।

३.आचारमिमांसाः
आचारमीमांसा भनेको दर्शनको तेस्रो महत्वपूर्ण शाखा हो । यो आचार विवेचनाको पक्ष हो । यसले दर्शन अंगालेको मानिस वा व्यक्तिले गर्नु पर्ने आचार–व्यवहारका मान्यता हुन्छन् । यस आचार विवेचनाले मानिसको ज्ञान र अनुभवहरूका आधारमा जीवनको आचारण कस्तो हुनु पर्दछ भन्ने विषयमा अध्ययन वा विवेचना गर्दछ । यसले मानिसको जीवन शैली, संसार वा प्राणीहरूको जीवनशैली कस्तो हुनुपर्दछ ? संसारको संयोग र वियोग प्रक्रिया कसरी निर्धारण हुन्छ ? शक्ति केहो र कसरी यसको उत्पत्ति विकास र नियन्त्रण गर्न सकिन्छ । मानिस के हो ? र यसको अस्तित्व र परिवर्तनका आधारहरू के हुन ? आदि प्रश्नहरूको उत्तरमा आफुलाई केन्द्रीत गर्दछ । आचारमीमांसाले मानिसको जीवनशैलीमा गरिने आचारण विधिको माग गर्दछ र मुलतः यसले जीवन र यसको सञ्चालनको सम्पूर्ण सामाजिक गतिविधिहरूको अध्ययनलाई आफ्नो अध्ययनको क्षेत्र मान्दछ ।

कुनै दर्शनमा तत्वमीमांसा धेरै, कुनै दर्शनमा ज्ञान वा प्रमाणमीमांसा धेरै वा कुनै दर्शनमा आचार मीमांसा धेरै हुन सक्छ । तर ती तीनवटै शाखा मध्य एउटा कुनै शाखाको अभाव रहेको चिन्तन प्रणालीलाई विकसित दर्शन प्रणाली मानिदैन । चिन्तन वा दर्शनले पूर्णता पाउन जुनसुकै दार्शनिक पद्धतिमा यी तिनकुरा अनिवार्य हुन जान्छन् । कुनै पनि दर्शनमा पहिलो कुरा तत्व विवेचनाको पक्ष (तत्वमीमांसा), दोस्रो कुरा ज्ञान वा प्रमाण विवेचनाको पक्ष (ज्ञान वा प्रमाणमीमांसा) र तेस्रो कुरा आचार विवेचनाको पक्ष (आचारमीमांसा) रहेको हुन्छ । साभारः अग्रिम साप्ताहिक