शिक्षक अर्को स्कुलको प्रअ भइसके, विद्यार्थी शिक्षक खोज्दै नगरमा

तुलसीपुर,१७ वैशाख । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ स्थित बाल मितेर मावि भोजपुरका विद्यार्थी शिक्षक खोज्दै उपमहानगरपालिका कार्यालय पुगेका छन् । विद्यालय पोशाक, कपि, किताब बोकेर विद्यार्थी उपमहानगरपालिका कार्यालय पुगेका हुन् । आईतबार भोजपुरबाट उपमहानगरपालिका कार्यालय आएका विद्यार्थीहरुले कार्यालय घेरेका थिए ।

शिक्षक नहुँदा पठन-पाठन अबरुद्ध भएको भन्दै उनीहरुले उपमहानगरपालिका कार्यालय घेरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाले त्यहाँका तीन जना शिक्षक सरुवा गरेको थियो । ति शिक्षक सरुवा हुँदा पठन-पाठन अबरुद्ध भएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।
सोही विद्यालयबाट शिक्षकहरू टंक केसी, जंग केसी र लेखराज रिजाल अन्य विद्यालयमा सरुवा भएको छ । यसका विरुद्ध उनीहरुले ‘उपमहानगरपालिकाको मनोमानी बन्द गर’ जस्ता नारा लगाएका थिए ।


विद्यालयका प्रधानाध्यापक ओमप्रकाश वलीले भर्ना अभियान चलिरहँदा तीन जना शिक्षक सरूवा भएपछि पठनपाठन प्रभावित भएको बताए । विद्यालय ब्यबस्थापन समिति तथा प्रधानाध्यापकसंग सल्लाह नै नगरि सरुवा गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

सरुवा भएका शिक्षक टंक केसी भने तुलसीपुर १९ स्थित नवजागरण माध्यामिक विद्यालयका प्रधानाध्यापक भएका छन् । तर, भोजपुर स्कुलले पटक-पटक हाँजिरी नभएको भन्दै सम्बन्धित निकायमा पत्र पठाउँदै आएको छ । उपमहानगरपालिकाले सरुवा गरेपछि नवजागरण माविमा केसी प्रधानाध्यापकका रुपमा काम गर्दै आएका छन् ।