लुम्बिनीः बहुमतको सरकार गठनको आह्वान

दाङ,१२ वैशाख । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्रीमा लिला गिरीले सोमबार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले कानुन ब्यबसायीहरुसंग छलफल पछि बहुमतका आधारमा सरकार गठनको आह्वान गरेका हुन् । एमालेले ठूलो दलको हिसाबले सरकारको नेतृत्व दावी गरिरहदा शेरचनलले संविधानको धारा १६८(२) अनुसार नै नयां सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका सचिब प्रल्हाद पोखरेलका अनुसार वैशाख १४ गते अपरान्ह ४ बजेसम्म दुई वा दुई भन्दा बढि दलको बहुमत जुटाएर सरकार बनाउन आह्वान गरिएको हो ।

यस अघि नै नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न दावी पेश गरिसकेका छन् । तर, एमालेले ठूलो दलका हिसाबले १६८(३) अनुसारको सरकारको दावी गर्दै आएको थियो । विश्वासको मत नपाएपछि तत्कालिन मन्त्रीपरिषदको बैठक बसेर ठूलो दलको हिसाबले मुख्यमन्त्रीको नेतृत्व गर्न पाउनु पर्ने भन्दै निणर्य गरि प्रदेश प्रमुखसमक्ष दावी पनि पेश गरेका थिए ।


तर, प्रतिपक्ष दलहरुले स्पस्ट बहुमत देखिने हस्ताक्षर सहित १६८(२) अनुसार सरकारको दावी गरेको, मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि अन्य दललाई तत्काल विश्वासमा ल्याउन सक्ने आधार पनि नभएको, २०७७ फागुन ११ गते सर्वोच्च अदालतबाट गरिएको ‘दुई वा सो भन्दा बढि दलहरु सरकार गठन हुन सक्ने नयाँ समीकरण सिर्जना भएमा त्यस्तो सरकार बनाउने विकल्प प्रतिनिधिसभा भित्र खोज्नु पर्ने उक्त धारा ७६ को समष्टिगत उद्देश्य र मनशाय रहेको देखिन्छ’ भन्ने नजीरलाई मध्येनजर गर्दै १६८(२) अनुसारको सरकार गठनको प्रक्रिया अघि बढेको सचिब पोखरेलले बताए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली काँग्रेसका २७, माओवादीका १०, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४-४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एकजना र स्वतन्त्र एक सांसद रहेका छन् । ति मध्ये एमालेका २९ र राप्रपाका ४ बाहेक अन्य सबै सांसद काँग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका छन् ।