
तुलसीपुर, २८ साउन ।
दाङको तुलसीपुर उपमहानगर–पालिका वडा नं. ७ निवासी ४६ वर्षीय धनीराम भण्डारी (डिआर) विरुद्ध जिल्ला अदालत दाङमा अभियोग पत्र दर्ता भएको छ । शुक्रबार जिल्ला सरकारी वकील कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गरेको हो । प्रहरीले अनुसन्धान पूरा गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकील कार्यालयले अभियुक्तलाई हिरासतमा राखेरै मुद्दा चलाउन सिफारिस गरेको हो । गएको असार ३० गते राति साढे ९ बजेतिर तुलसीपुर ६ स्थित एक होटेलमा जबरजस्ती करणी गरेको भण्डारी माथि आरोप छ ।
के छ, पीडितको उजुरी ?
पीडित भनिएकी १६ वर्षीया बालिकाले दिएको उजुरी अनुसार भण्डारी तुलसीपुर ६ स्थित होटेलमा मादक पदार्थ सेवन गरेका थिए । त्यसपछि रेडबुल र चुरोट मगाए । त्यही रेडबुल र चुरोट लिएर कोठामा जाँदा कोठाको ढोका बन्द गरि जबरजस्ती करणी गरेको उनको उजुरीमा उल्लेख छ ।
डिआरको बयानः केटी रेडबुल ल्याएर आएको बेला ढोका लगाईदिए
जबरजस्ती करणीको घटनामा प्रतिवादी बनाइएका धानीराम भण्डारी(डिआर)ले दिएको बयान अनुसार संगै गएका दुर्गा प्रसाद भण्डारी चुरोट खान बाहिर निस्केको बेला ति केटी रेडबुल ल्याएर कोठामा आएकी थिइन । त्यही क्रममा कसैले बाहिरबाट ढोका लगाई दिएको बयान दिएका छन् । सोही दिन आफ्नै गाउँका दुर्गा प्रसाद भण्डारीसंग त्यो होटेलमा खाजा खाना गएको डीआरले बताए । उनका अनुसार रेष्टुरेन्टमा पुगी खाजा अर्डर गरेको र गाडी चलाउनुपर्ने भएकाले आफूले खाजा र रेडबुल मात्र खाएको बयान दिएका छन् । त्यही क्रममा चुरोट र रेडबुल मगाईएको थियो । ति केटीले चुरोट ल्याईदिएपछि दुर्गा प्रसाद चुरोट खान कोठा बाहिर गएको र पीडित भनिएकी केटीले रेडबुल लिएर आएको बेला बाहिरबाट कसैले अचानक कोठाको चुकुल लगाएको डीआरले बयान दिएका छन् ।
त्यसपछि ‘किन ढोका लगाएको’ भन्दै तुरुन्तै आफूहरू कराएपछि करिब ३०/४० सेकेन्डमै बाहिरबाट ढोका खुलेको र बाहिर निस्कँदा दुर्गा प्रसादमाथि कुटपिट भइरहेको देखेको उनको भनाइ छ । होटलमा अत्यधिक मानिसहरूको भिडभाड र होहल्ला भएपछि आफूले खाजाको बिल नगद भुक्तानी गरी निस्कन खोज्दा आफूमाथि पनि हातपातको प्रयास भएको उनले बयान दिएका छन् । अपरिचित व्यक्तिहरूले पछाडिबाट गाडीमा ढुंगा प्रहार गरी सिसा फुटाएपछि ज्यान र गाडी बचाउन हतारमा भाग्ने क्रममा दुर्घटना भएको र डरले गाडी छाडेर भागेको उनले बयानमा उल्लेख गरेका छन् ।
पीडित भनिएकी महिलासँग कुनै पनि किसिमको जबरजस्ती करणी नगरिएको र उनी विवाहित भई बच्चासमेत भइसकेको कारण स्वास्थ्य परीक्षण प्रतिवेदनमा त्यस्तो देखिएको हुन सक्ने प्रतिवादी भण्डारीको जिकिर छ । त्यसरी निस्कने क्रममा अपरिचित व्यक्तिहरूले पछाडिबाट गाडीमा एक्कासी ढुङ्गा हानेर सिसाहरू फोडी क्षति प¥याएपछि ज्यान र गाडी जोगाउन हतार–हतार कुदाएर भाग्दा गाडी दुर्घटना हुन पुगेको र डरका कारण गाडी सोही ठाउँमा छाडी भागेको उनले बयानमा उल्लेख गरेका छन् ।
दुर्गा प्रसाद भण्डारीको बयानः मैले चुरोट पिउदै गर्दा कुटपिट भयो
जिल्ला सरकारी वकील कार्यालय, दाङद्वारा तयार पारिएको अभियोगपत्रमा उल्लेख भएअनुसार तुलसीपुर ७ कै दुर्गाप्रसाद भण्डारीले वारदातको दिन बेलुका कार्यालयको भेटघाटपछि खाजा खान भनी तुलसीपुर रजौरास्थित ‘न्यु हिमालय रेष्टुरेन्ट’ गएको बताएका छन् । उक्त होटलमा पुगी उनीहरूले कुखुराको मासु (चिकेन), सलाद, रेडबुल र रक्सी अर्डर गरेको र आफूले ‘हाईलेन्डर’ मदिरा सेवन गरे पनि धानीरामले भने मदिरा सेवन नगरी मासु, रेडबुल र सलाद मात्र खाएको भण्डारीको बयान छ ।
सेवा दिने क्रममा पीडित महिलाले बेलाबेलामा खानेकुरा ल्याउने गरेको र आफूलाई चुरोट खान मन लागेपछि कोठाबाट बाहिर निस्किएको उनले खुलाएका छन् । होटल बाहिर चुरोट पिउँदै गरेको बेला अचानक आएका ५/६ जना अपरिचित व्यक्तिहरूले आफूलाई समाती कुटपिट गरेको र चोटपटक पु¥याएको उनको बयानमा उल्लेख छ । किन कुटपिट गरेको हो भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको उनले बताएका छन् । कुटपिट भएपछि धानीरामलाई खोज्दा उनी पनि होटलबाट निस्किसकेको र त्यसपछि आफू आफ्नो घरतर्फ गएको उनले बताएका छन् ।
होटेल सञ्चालकको बयान: पीडितले भनेपछि मात्रै थाहा पाएँ
जिल्ला सरकारी वकील कार्यालय, दाङद्वारा तयार पारिएको अभियोगपत्रमा होटल सञ्चालक रोशनी बुढाथोकीले बेलुका साढे ५ बजेतिर प्रतिवादी धनिराम भण्डारी र दुर्गाप्रसाद भण्डारी आफ्नो होटलमा आएको बताएकी छिन्। उनीहरूले कुखुराको मासु चिकेन, सलाद, रेडबुल र रक्सी अर्डर गरेको र भान्सामा आफैँले नास्ता बनाएकाले होटलमा काम गर्ने पीडित महिलाले सर्भिस गरेको उनको भनाइ छ । राति करिब ९ बजेको समयमा सँगै आएका दुर्गाप्रसाद क्याबिनबाट बाहिर निस्केर चुरोट पिउँदै गरेको बेला होटल बाहिर बसिरहेका ५/६ जना अपरिचित केटाहरूले उनलाई कुटपिट गरेको रोशनीले बयानमा खुलाएकी छिन् ।
के कारणले कुटपिट भएको हो भन्ने बारे आफूलाई थाहा नभएको उनले बताएकी छिन् । त्यसरी हल्लाखल्ला भइरहेको बेला धनिराम भण्डारी पनि क्याबिनबाट बाहिर निस्केर खाजा खाएको पैसा तिरेर गएको र त्यसपछि राति परेकाले उनीहरु कता निस्किए भन्ने थाहा नभएको उल्लेख गरेकी छन् । होटलबाट सबै मानिसहरू निस्केर खाली भएपछि पीडित महिलाले रेडबुल लिएर सर्भिस गर्न गएको बेला धनिरामले जबरजस्ती करणी गरेको कुरा रुँदै सुनाएपछि मात्र आफूले घटनाबारे थाहा पाएको होटेल सञ्चालक रोशनीले बयान दिएकी छन् ।
पीडितको माग के छ ?
पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा उनको संवेदनशील अंगमा चोट देखिएको कुरा उल्लेख गरिएको छ । जसलाई अदालतमा मुख्य प्रमाणको रूपमा पेश गरिएको छ । जिल्ला सरकारी वकील कार्यालयले अभियुक्तको सम्पत्तिबाट पीडितलाई शारीरिक तथा मानसिक क्षति पुगे बापत उचित क्षतिपूर्ति दिलाउन समेत मागदाबी गरेको छ ।
यस मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै अदालतले बन्द इजलासमा निरन्तर सुनुवाई गर्ने प्रक्रिया अगाडि बढाएको छ, ताकि पीडितको गोपनीयता र सुरक्षा कायम रहन सकोस् । अभियुक्त भण्डारी हाल प्रहरी नियन्त्रणमै रहेका छन् । भण्डारी तुलसीपुरको एक स्थापित सहकारीका सिइओ समेत थिए ।



लाइभदाङ । २८ श्रावण २०८३, बिहीबार ०७:५५ बजे