
दीपक बोहरा
दाङ, २६ साउन ।
दाङका एक ८५ बर्षीय जेष्ठ नागरिकले ८५ बर्षमा दिएको सम्बन्ध विच्छेदको मुद्दालाई जिल्ला अदालतले दावी नपुग्ने फैसला गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १३, वनगाउँमा डेरा गरी बस्ने ८५ बर्षीय वीर बहादुर गुरुङले आफ्नी श्रीमती सुनमाया गुरुङ विरुद्ध दिएको फिरादमा अदालतले यस्तो निर्णय सुनाएको हो । वादी वीर बहादुरले श्रीमतीले २०६७ सालदेखि आफूलाई वेवास्ता गरेको र बुढेसकालमा सहारा नदिएको भन्दै सम्बन्ध विच्छेदको माग गरेका थिए ।
श्रीमती सुनमाया गुरुङले भने पतिले अर्को विवाह गर्ने नियतले झुठ्ठा मुद्दा लगाएको र आफू सँगै बस्न तयार रहँदा रहँदै पनि पतिले नै स्वीकार नगरेको जिकिर प्रतिउत्तरमा गरेकी थिइन् ।
उक्त मुद्दामा न्यायाधीश लालसिंह थापाको इजलासले गरेको फैसलाको पूर्ण पाठ मंगलबार सार्वजनिक गर्दै यसअघि पनि यिनै दम्पतीबीच चलेको सोही प्रकृतिको मुद्दामा सम्बन्ध विच्छेद नहुने गरी फैसला भइसकेको आधार देखाउँदै यस पटक पनि दावी नपुग्ने ठहर गरेको हो । उनीहरुबीच २०७४ मा पनि यस्तै प्रकृतिको मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा पनि अदालतले मिलापत्र गरेर पठाएको थियो ।



लाइभदाङ । २७ श्रावण २०८३, बुधबार ०९:४८ बजे