युवालाई स्वदेशमै पसिना बगाउन मन्त्री चौधरीको आग्रह

ओमप्रकाश गुप्ता
सिसहनियाँ, २८ साउन ।
दाङको राप्ती गाउँपालिकामा युवा चेम्बर अफ कमर्सले २७औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ। ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ बुधबार राप्ती गाउँपालिका–१ पाखापानीमा ‘राष्ट्र निर्माणमा युवाको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरी दिवस मनाइएको हो।

युवा चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष पदम परियारको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले राष्ट्र निर्माणका लागि युवाले विदेश होइन, स्वदेशमै पसिना बगाउनुपर्ने बताउनुभयो। पढाइ पूरा गरेपछि रोजगारी तथा अवसरको खोजीमा विदेश जाने युवाको संख्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले युवालाई स्वदेशमै उद्यम, व्यवसाय, कृषि तथा उत्पादनमूलक क्षेत्रमा जोड्न सके मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताउनुभयो।

उहाँले युवा शक्ति राष्ट्रको महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै युवाको ऊर्जा, सिर्जनशीलता, सीप र क्षमतालाई सही ढंगले परिचालन गर्न सके आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सकिने बताउनुभयो।

नेपालमा कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा प्राकृतिक स्रोतका क्षेत्रमा प्रशस्त सम्भावना रहे पनि त्यसको पर्याप्त उपयोग हुन नसकेको मन्त्री चौधरीको भनाइ थियो। युवाले स्वदेशमै उद्यमशीलता विकास गर्न सके रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता क्रमशः अन्त्य गर्न सकिने उहाँले बताउनुभयो।

‘पढ्ने, सीप सिक्ने अनि विदेश जाने’ प्रवृत्तिलाई मात्र विकल्पका रूपमा लिन नहुने भन्दै मन्त्री चौधरीले विदेशबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई समेत स्वदेशको विकासमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक तथा प्रविधिमैत्री बनाउन सके युवाका लागि स्वदेशमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सकिने उहाँले बताउनुभयो।


कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले युवा दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नगरी युवाका वास्तविक समस्या पहिचान र समाधानका लागि बहस तथा अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए। युवालाई नेतृत्व विकास, उद्यमशीलता, सामाजिक उत्तरदायित्व तथा उत्पादनसँग जोड्न तीनै तहका सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।

यसै अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सिरिन भ्याली पब्लिक स्कुलकी सुप्रिया खनाल प्रथम, गोरखा आइडियल स्कुलकी पूजा पौडेल द्वितीय र राप्ती गाउँपालिका–१ भालुवाङकी सम्पदा कौशल तृतीय हुनुभएको थियो। विजेताले क्रमशः ५ हजार, ३ हजार र १ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए। प्रतियोगितामा १५ जना सहभागी भएका थिए।

प्रतियोगितामा कृष्ण गिरी, जीवरााज शर्मा, निर्मला भुसाल र कृष्णप्रसाद पौडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।

कार्यक्रममा राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख देवी मल्ल, नागरिक समाज दाङका सदस्य दामोदर भण्डारी, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक केशव भुसाल, राप्ती चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा सल्लाहकार नेमलाल शर्मा बेल्वासे र राप्ती उद्योग वाणिज्य संघका महासचिव बासुदेव न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

युवा चेम्बरका दोस्रो उपाध्यक्ष सुधन घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता र युवा चेम्बरका सदस्य आरके यादवले गर्नुभएको थियो।