७ बर्षदेखि अलपत्र पुल

दीपक बोहरा,
तुलसीपुर,५ वैशाख ।
तुलसीपुर उपमहागरपालिका १५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुर खोलामा पुल निर्माण हुन लागेको करिब ७ वर्ष भयो । तर, अझै पनि त्यो पुल निर्माणको काम आधा मात्रै छ । पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवत जावतमा समस्या हुने गरको छ ।

२०७५ चैत्र १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते भ्याट बाहेक १० करोड ५० लाख २१ हजार ४ सयमा उक्त पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । सोही अनुसार पुल निर्माणको काम सुरु हुँदा खुसी भएका स्थानीयहरु भने अहिले निराश बनेका छन् ।“निर्माण सुरु भएको ७ बर्ष भयो”,उहाँले भन्नुभयो“तर, अहिलेसम्म पनि निर्माण पूरा भएको छैन, कहिले निर्माण हुने हो, हामीलाई निकै गाह्रो भयो ।”

शुरुको दिनमा व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माणमा विवाद भएको थियो । अहिले निर्माण कम्पनीले बिभिन्न कारण देखाउँदै देखाउँदै म्याद थप्दै आएको छ । यसरी लामो समय पुल नबन्दा बर्षादको समयमा सवारी साधन वारपार गर्न समस्या हुने अटो चालक सुरेश परियारले बताउनुभयो ।“बर्षादमा झनै समस्या हुने गरेको छ, पानीको बहाब बढ्ने गरेकाले वारपार गर्न पनि सकिदैन”,उहाँले गुनासो गर्नुभयो ।


पुल नबन्दा सास्ती भएपछि नागरिकले स्थानीय सरकारलाई पनि झक्झक्याउने गरेको छ । वडा कार्यालय पनि पुल नबन्दा नागरिकहरूले सास्ती पाएको भन्दै निर्माण कम्पनीलाई चाँडो पुल निर्माण गर्न आग्रह गर्दै आएको तुलसीपुर १५ का कार्यवहाक वडाध्यक्ष मंगल चौधरीले बताउनुभयो ।

हाल २०८० असार मसान्तसम्म म्याद थप भएको छ । तोकिएको समयमा निर्माण नभएमा म्याद थप नहुने र निर्माण कम्पनीलाई कारबाही गर्ने सडक डिभिजन कार्यालय दाङका इन्जिनियर विके लाखेले बताउनुभयो ।

पुल निर्माण कार्य निर्माणका लागि पटक–पटक स्थानीयले दवाव दिने गरेका छन् । तर, पनि कुनै पनि निकायले त्यसको चासो दिएका छैनन् । पुल निर्माण कार्य अधुरो हुँदा नागरिकले सास्ती भोग्दै आएका छन् ।