
दीपक बोहरा
तुलसीपुर, २१ माघ ।
शिक्षामा केही नयाँ गरौं, भन्ने भावले खोलिएको थियो–दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित शिखा इग्लिस बोर्डिङ स्कुल । जुन स्कुलका संस्थापक दिवंगत खिमबहादुर केसी थिए । उनी सामुदायिक विद्यालयमा अध्यापन गर्दा–गर्दै छोडेर २०५३ सालमा आफ्नै विद्यालय खोलेका थिए । त्यो विद्यालय खोलेपछि सुरुवातमा परिवारका सदस्यले नै चलाए ।
सुरुवातमा भाई सुमन केसीसहित पाँच दिदी बहिनीले सोही विद्यालयमा पढाए । आफ्नै जग्गामा संरचना बनाएर पढाउन सुरु गरिएको हो । “हामीले एकाघरका भाइबहिनी स्वदेशमै केही गरौं, शिक्षा क्षेत्रमा काम गरौं भनेर विद्यालय खोलेका हौं”,हालका प्रिन्सिपल सुमन केसीले भने“ दाई सामुदायिक विद्यालयमा पढाउँदा–पढाउँदै यो क्षेत्रमा होमिनु भयो, हामी पनि त्यसमै जोडियौं,दाईसहित दिदी बहिनी र म शिक्षण पेशामै जोडिौं ।” सुरुवातमा २३ जना विद्यार्थी थिए । कक्षा नर्सरीदेखि १ सम्म सञ्चालनमा थियो ।तत्कालिन अबस्थामा विद्यालय खोल्नकालागि ८ हजार लगानी लागेको थियो ।
तर, अहिले उक्त विद्यालय १० सम्म सञ्चालनमा छ । हाल शिक्षक, कर्मचारीसहित २२ जना कार्यरत रहेको केसीले बताए । आफ्नै पाँच कठ्ठा जग्गामा यसरी विद्यालय सञ्चालन गरिएको छ ।
विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु अहिले कोही इन्जिनियर छन्, कोही लोकसेवा पास गरेका छन्, भने कोही प्रहरी अधिकृत छन् ।
सोही विद्यालयले मंगलबार आफ्नो २९ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयका प्रिन्सिपल सुमन केसीको अध्यक्षता एवं एन प्याब्सन दाङका अध्यक्ष सालिकराम कार्कीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि कार्कीले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गरी स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
समारोहमा समाजसेवी ईश्वरी भण्डारी, सगरमाथा बोर्डिङ स्कुलका प्रधानाध्यापक छविकुमार वली, ग्रेट अरनिको माविका प्रधानाध्यापक विष्णु देवकोटा र तुलसीपुर नगर जेसिजका अध्यक्ष कमल प्रकाश शर्मा,केपी न्यौपाने,महेन्द्र भण्डारी लगायतले शिखा बोर्डिङले शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा थप प्रगतिको कामना गरेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक प्रदिपकुमार भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षिका यमुना रिजालले गरेकी थिइन । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न जातजातिको संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो ।



लाइभदाङ । २२ माघ २०८२, बुधबार २१:२६ बजे