आठ करोड भुक्तानी दिने सोनापुर सिमेन्टको पत्र

दाङ,५ वैशाख । लाइन काटिएको पाँच दिनपछि सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले तत्काल आठ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्ने गरी प्राधिरकणलाई पत्र पठाएको छ । यद्यपि, त्यो प्राधिकरणको सीमाअनुसार नभएकाले थप निणर्य नगरेको नेपाल विद्युत प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख हरि पाण्डेले बताए ।

गत बुधबार सोनाश्री (पिपिसी) र सोना (ओपिसी) सिमेन्ट उत्पादन गर्दै आएको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको लाइन काटेको छ । त्यस कम्पनीले साउन ०७७ यताको ४१ करोड ६६ लाख नियमित महसुल तिरेको छैन । डेडिकेटेड र ट्रंक लाइनबापतको ३२ करोड ९४ लाखसहित कम्पनीले कुल ७४ करोड ५९ लाख महसुल तिर्न बाँकी छ ।


प्राधिकरणको नियमअनुसार उद्योगले बक्यौताको न्यूनतम २५ प्रतिशत रकम तिरेपछि मात्रै विद्युत् जोड्न सकिन्छ । तर, सोनापुर बुझाउने भनेको रकम त्यसअनुसार पुग्दैन । सोहीअनुसार यसमा तत्काल कुनै निणर्य नगरेको पाण्डेको भनाइ छ ।

‘सोनापुरले आइतबार मात्रै आठ करोड रुपैयाँ बुझाउने गरी आधिकारिक पत्र पठाएको छ । तर, अब यसमा के गर्ने भनेर केन्द्रबाट नै निणर्य हुन्छ,’ उनले बताए ।