
गढवा, २५ असोज ।
पोषणमार्फत् जीवन रूपान्तरण परियोजनाअन्तर्गत गढवा गाउँपालिकामा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीचको बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा गाउँपालिकाभित्र बढ्दो कुपोषण न्यूनीकरणका उपाय र रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।
छलफलमा बोल्दै अध्यक्ष पोख्रेलले गढवा गाउँपालिका अझै पनि कुपोषणको चपेटामा रहेको जनाउँदै सो समस्यालाई न्यूनीकरण गर्न पालिका गम्भीर रूपमा लागिपरेको बताउनुभयो। उहाँका अनुसार पालिकाले कुपोषित बालबालिकाको पहिचान गरी तिनीहरूलाई आवश्यक पोषण सहयोग पुर्याउने कार्यमा निरन्तरता दिइरहेको छ। यसका लागि हेलेन केलर, बेस लगायतका सहकार्य संस्था संगको समन्वयमा एकीकृत डाटा संकलन र डेटाबेस निर्माणको काम भइरहेको जानकारी उहाँले दिनुभयो।
अध्यक्ष पोख्रेलले स्वास्थ्य क्षेत्रमा पालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै रक्तअल्पता (एनिमिया) लगायतका समस्याहरू समाधान गर्न पनि पालिका गम्भीर रूपमा लागेको बताउनुभयो। उहाँका अनुसार स्थानीय तहमा सचेतना, पोषण शिक्षा र सेवा विस्तारका माध्यमबाट दीगो सुधार ल्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालनमा छन्।
कार्यक्रमका क्रममा आईडीई प्रोजेक्ट अफिसर सन्तोष कुमार शर्माले नेपालको स्तनपानको अवस्था र बालपोषण सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्नुभयो। उहाँका अनुसार जन्मेपछि पहिलो घण्टाभित्र स्तनपान गराउने दर ५५ प्रतिशत, छ महिनासम्म पूर्ण स्तनपान ५६ प्रतिशत र दुई वर्षसम्म निरन्तर स्तनपान गर्ने दर ९४ प्रतिशत रहेको छ। सो अवसरमा उनले प्रदेशगत रूपमा शून्यदेखि तेइस महिनासम्मका बालबालिकामा दूधदानीबाट दूध खुवाउने दर प्रस्तुत गर्दै कोशीमा २५, मधेशमा ३०, बागमतीमा ४३, गण्डकीमा २७, लुम्बिनीमा २४, कर्णालीमा ११ र सुदूरपश्चिममा १५ प्रतिशत रहेको जानकारी दिए।
शर्माका अनुसार पोषणमार्फत् जीवन रूपान्तरण परियोजनाले २००० दिनको अवधिमा पाँच जीवनरक्षक पोषण कार्यहरू उच्च गुणस्तरमा विस्तार गरी बालकुपोषणको प्रमुख चुनौतीलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ। उक्त परियोजना संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यमा लुम्बिनी प्रदेशका चार जिल्लाका ४३ स्थानीय तहमा सञ्चालनमा रहेको पनि उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा हेलेन केलर संस्थाका फिल्ड अफिसर अनिल केसीले हालसम्मको तथ्याङ्क र प्रगतिबारे जानकारी प्रस्तुत गर्दै गढवामा पोषण सुधारका कार्यक्रमहरू स्थायी रूपमा अघि बढाइरहेको बताउनुभयो।
छलफल कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, वडाध्यक्षहरू, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, कृषि तथा पोषण अधिकृत, बेस संस्थाका प्रतिनिधि तथा अन्य कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहजीकरण गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले गर्नुभएको थियो। सहभागीहरूले आगामी दिनमा पोषण सुधारका कार्यलाई अझ सशक्त र प्रभावकारी बनाउन स्थानीय सरकार, समुदाय र विकास साझेदारबीचको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।



लाइभदाङ । २५ आश्विन २०८२, शनिबार १९:५७ बजे