आर्थिककै कारण खेल खेल्नबाट बञ्चित भए तुलसीपुरका खेलाडी

दीपक बोहरा
दाङ,५ वैशाख ।
कैलालीको गौरीगंगा नगरपालिकाले तुलसीपुर उपमहानगरपालिकालाई महिला फुटबल खेलाडी सहभागिताकालागि निमन्त्रणा गर्‍यो । त्यो अनुसार महिला फुटबल खेलाडी लैजानकालागि तयारी पनि गरिएको थियो । तर, उपमहानगरपालिकाले बजेट अभाब भन्दै आर्थिक जोहो नगरेपछि खेलाडीहरु खेलमा सहभागि हुन नसक्ने भएका छन् ।‘हामीले उपमहानगरपालिकामा जाँदा मेयरले तोक समेत लगाउनु भयो’,जिल्ला फुटबल संघका पूर्वध्यक्ष शुसिल श्रेष्ठले भने‘तर,अहिले आएर बजेट छैन भनेर पन्छिनु भयो ।’

५ बैशाखमा नाम दर्ता गराउने अन्तिम मिति हो । तर, आर्थिक अबस्था कम्जोर भएकै कारण नाम दर्ता गराउन नसकिएको उनले बताए । गौरीगंगाले महिला र पुरुष दुबै समूहको फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको भएपनि तुलसीपुरबाट महिला टिमलाई मात्रै पत्र पठाएको थियो ।

त्यो तुलसीपुरकालागि गौरवको विषय भएपनि आर्थिक अभाब भन्दै सहभागि नै नगराउने भएपछि यो दुःखद कुरा रहेको श्रेष्ठले बताए ।‘तुलसीपुरको महिला टिम राम्रो भएकै कारण तुलसीपुरबाट आमणत्रण गरेको हो, उसले राम्रो-राम्रो टिमलाई मात्रै छनोट गर्दै आएको छ’,उनले भने‘तर, तुलसीपुरले यो गहनालाई बुझ्न नसक्नु दुःखद कुरा हो ।’ त्यो खेलमा जानकालागि एक लाख ३० हजार रुपैँया माग गरिएको थियो ।


ड्रेस,बस भाडा, प्राथामिक स्वास्थ्य, खना, नास्तालगायतमा उक्त रकम भनि माग गरिएको थियो । तुलसीपुरलाई मात्रै आवास आयोजकले नै दिएको थियो । अन्य पालिकालाई यो सुविधा थिएन । यो भन्दा पहिले त्यहाँ गएर खेलमा सहभागि भइ देखाएको खेलाडीको दक्षतालाई हेरेर तुलसीपुरलाई बिशेष प्राथमिकता दिएको उनको भनाई थियो ।

तुलसीपुरका खेलाडी बंगलादेशमा गएर पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको भन्दै यसमा उपमहानगरपालिकाले चासो नदिएको उनको गुनासो थियो ।
खेलमा जान नपाउँदा खेलाडी पनि दःखी भएका छन् ।‘हामीलाई कहिल्यै पनि खेल खेल्न जाँदा आर्थिक जोहो हुँदैन’,खेलाडी जुना छिनालले भनिन्‘अहिले पनि पैसा नभएकै कारण हामी खेल्नबाट बञ्चित भएका छौं ।’ वैशाख १० गतेदेखि प्रतियागिता हुँदैछ ।

रिपोर्टस् क्लब दाङमा पत्रकार सम्मेलन गरि उनीहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रमको अध्यक्ष क्लबका अध्यक्ष शरद रेग्मीले गरेका थिए । त्यस अवसरमा महिला फुटबल कोच सुधिर गुरुङ, निवर्तमान फुटबल कोच मन्जित बाँठा, दाङ जिल्ला फुटबल संघका पूर्वउपाध्यक्ष इन्द्र पुनलगायत खेलाडीहरुको पनि सहभागिता थियो ।