राप्ती नदीमा बगेर वेपत्ता भएका बालक मृत अवस्थामा भेटिए

भालुवाङ, २४ चैत ।
दाङ देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा बगेर वेपत्ता भएका बालक मृत अवस्थामा भेटिएका छन् ।

सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानको झिमरूक गाउँपालिका-८, टिमुरेचौरका रामबहादुर सुनारका छोरा अन्दाजी बर्ष १३ का बिबेक सुनार बिहीबार बेलुका ४ बजेको समयमा ससत्र व्यारेकको ठिक दक्षिण तर्फ राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।


शुक्रबार मध्यान्ह करिव १२ बजेको समयमा सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटरको टोलीले वेपत्ता भएकै ठाउँमा गाँडिएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल बहादुर सिंहले जानकारी दिएका छन् । फेला परेका बालकलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ ।