निर्माण सुरु भएको पाँच महिनापछि मुख्यमन्त्रीद्वारा ट्रेड टावर सिलन्यास

दाङ,२० चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ ब्यापारिक तथा प्रशासनीय प्रयोजनकालागि ट्रेड टावर निर्माण कार्य सुरु भएको पाँच महिना भयो । गएको मंसिरदेखि सोही ठाउँमा ट्रेड टावर निर्माण सुरु भएको हो । तर, सोमबार मात्रै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले सोही टावरको सिलन्यास गरे ।

सोमबारसम्म वेशलाई निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ । त्यस अवसरमा मुख्यमन्त्री गिरीले दाङलाई पर्यटनको केन्द्रको विकास गर्न ट्रेड टावरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । दाङ ठूलो उपत्यका पनि भएको र चुरे महाभारत सृङखलाहरु पनि रहेकाले हिलस्टेशनका रुपमा अघि बढाउन पनि सकिने बताएका छन् । त्यस्तै उनले कोइलाबासबाट सुरुङमार्ग निकालेर दाङ उपत्यका पु¥याउन सकिने समेत बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उपमहानगरपालिकाकै जग्गामा ठूला–ठूला घरहरु बनाएर बेचविखन कार्य भइरहेको बताए । ति घरहरु छोड्नकालागि बारम्बार भनेपनि अटेरी गरेको भन्दै आफ्नो जग्गा खाली गराएरै छोड्ने बताए ।‘सरकारी सम्पतिमा मालिक बनेर खान पल्केकाहरुले विरोध गर्नुको कुनै अर्थ रहदैन”,उनले भने“अर्काको जग्गामा बस्नेलाई हटाउनुको कुनै विकल्प छैन ।”


अहिलेसम्म उपमहानगरपालिकाको जग्गामा घर बनाएकाहरुले कर पनि नतिरेको, भाडा पनि नदिएको भन्दै त्यस्ता ब्यक्तीहरुलाई सम्मान गर्न नसक्ने समेत उनले बताए । उनले मिचिएका घरहरु खाली बनाएर जग्गा भाडामा दिएर आम्दानी लिने तयारी रहेको समेत उनले बताए ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन कुमार योगीले साढे १४ करोड ४२ लाख लागतमा बहुउद्देश्य व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको बताए । जहाँ लिफ्ट सहित ७ तलाको टावर निर्माण हुनेछ । साढे १७ मिटर लम्बाई र ३४ मिटर चौडाई रहेको टावरको निर्माण कार्य तीन वर्षमा पूरा गर्नेगरी सम्झौता भएको छ । २३ करोडमा टेन्डर आव्हान गरिएपनि समानान्तर, डायनामिक, नारायणम जेभिले भ्याट बाहेक साढे १४ करोडमा ठेक्का लिएको इन्जिनियर योगीले बताए ।

कुल लागत मध्य ७० प्रतिशत रकम नगर विकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण हुन लागेको हो । ‘भूमिगत गाडी पार्किङ’ पनि निर्माण हुने छ । उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको टावरको व्यापारिक भवनमा पार्किङदेखि विभिन्न व्यापार, बैकिङ् कारोबार, सभाहल, रेष्टुरेन्ट सञ्चालनमा आउनेछन् । उक्त भवन २०८१ चैत मसान्तसम्म सक्ने गरि सम्झौता भएको छ ।