तुलसीपुरमा गठबन्धनद्वारा कार्यपालिका बैठक बहिस्कार

दीपक बोहरा
दाङ,२६ जेठ । एक्लौटि निर्णय लाद्न खोजेपछि तुलसीपुरमा गठबन्धन र स्वतन्त्रले कार्यपालिका बैठक बहिस्कार गरेका छन् । विहीबार विहान बसेको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका बैठक बहिस्कार गरेका हुुन् ।

विषयगत समिति गठन गर्ने क्रममा एकलौटि भएको भन्दै बैठक बहिस्कार गरिएको माओवादी केन्द्रबाट निर्वाचित कार्यपालिका सदस्य तथा वडा नं. १२ का अध्यक्ष खुसीराम चौधरीले बताए । ‘बैठकमा एकलौटि तरिकाले पार्टी कार्यालय जसरी उपमहानगरपालिका चलाउन खोजियो, विषयगत समितिमा एमालेका मात्रै भर्ति गर्न खोजेपछि हामीले कार्यपालिका बैठक बहिस्कार गरेका हौं’,उनले भने‘यदि यसरी नै एकलौटी भए आफूहरुले आगामी दिनमा थप कडा तरिकाले प्रस्तुत हुन्छौं ।’

तुलसीपुरको कार्यपालिकामा एमालेको बहुमत रहेको छ । मेयर र उपमेयरसहित २९ जना कार्यपालिका सदस्य रहेको तुलसीपुरमा एमालेका मात्रै २० जना कार्यपालिका सदस्य छन्, भने गठबन्धनबाट काँग्रेसका ५, माओवादी केन्द्रका ३ र स्वतन्त्रका एक जना रहेका छन् । बहुमत भएकाले पनि एमालेले कार्यपालिकामा बल मिचाई गर्न खोजेको भन्दै उपमहानगरपालिकालाई पार्टी कार्यालय जसरी चलाउन नदिने कार्यपालिका सदस्य तथा वडा नं. ९ का अध्यक्ष घनश्याम ढकालले बताए । “मेयरको भनाई र गराईमा निकै फरक भयो, हामीले नगरबासीको साझा मेयरको रुपमा भूमिका निर्वाह गर्नुुस्, भनेका छौं’,उनले भने‘तर, उहाँले एमालेबाट निर्वाचितहरुलाई मात्रै शाखा, महाशाखाको जिम्मेवारी दिनुभयो,समान सहभागिता भएन, यो जनप्रतिनिधि माथिको अपमान हो ।’

गठबन्धनलाई पाखा लगाएर आफूलाई मात्रै लेखा समितिको संयोजक बनाएको भएपनि आफूले त्यो जिम्मेवारी नैतिकताका हिसाबले नलिने समेत उनले बताए ।


१९ वटै वडालाई ब्यबस्थित बनाउकालागि सबै वडाध्यक्षहरुलाई समान रुपमा जिम्मेवारी दिनुपर्ने भएपनि एकलौटि जिम्मेवारी दिदा त्यसले सबै वडाको भावना समेत समेट्न नसक्ने स्वतन्त्रबाट निर्वाचित तुलसीपुर १६ का वडाध्यक्ष शिवानन्द डाँगीले बताए । बैठकमा प्रस्ताब ल्याएर आउनु पर्ने भएपनि निर्णय नै ल्याएर आएको समेत बताए ।‘प्रस्ताबमाथि छलफल, बहस हुन्छ’,उनले भने‘तर, उहाँले बैठकमा निर्णय नै ल्याउनुभयो, र हामीलाई ताली बजाउनेका रुपमा मात्रै लिन खोज्नु भयो, यो वडाध्यक्षको अपमान हो ।’

बहुमतका आधारमा पेल्न खोज्दा ठूला–ठूला तानाशाह पल्टाउन सफल भएको भन्दै यस्ता कार्य दोहोरिएमा आफूहरुले जस्तोसुकै कदमपनि चाल्न सक्ने बताए ।

एमालेलाई मात्रै विभागको जिम्मा
उपमहानगरपालिकाका सम्पूर्ण विभागको जिम्मा एमालेलाई मात्रै प्रदान गरिएको छ ।सुसाशन विभागको नेतृत्व धर्म वली,आर्थिक समितिको नेतृत्व माधव वली,सामाजिक विकासको नेतृत्व मानबहादुर रावत, विपत ब्यबस्थापनको दुजमान भण्डारी, पूर्वाधारको नेतृत्व विरबहादुर विक, विद्येयक निर्माणको नेतृत्व भिमबहादुर योगी, अनुगमन, योजना तथा बजेट र राजश्वको नेतृत्व स्यानी चौधरीलाई प्रदान गरिएको छ । उनीहरु सबै एमालेबाट निर्वाचित हुन् ।

त्यस्तै प्रबक्ताको जिम्मा माधव वलीलाई प्रदान गरिएको छ, भने प्रेस संयोजक गोकर्ण पौडेललाई नियुक्त गरिएको छ ।