भारतीय कारमा मृत्यु भएका परिवारलाई रोजगारी

तुलसीपुर,७ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजार स्थित पार्किङ गरि राखेको कार भित्र मृत फेला परेका बालकका परिवारलाई रोजगारी दिइने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको नवौं नगर कार्यपालिका बैठकले पहिलो चरणमा एक जना परिवारका सदस्यलाई रोजगार दिने निर्णय भएको हो ।

निर्णय अनुसार सुनिता परियारलाई रोजगारी दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताउनुभयो । उहाँका अनुसार परियारलाई सरसफाई कर्मचारीका रुपमा रोजगार प्रदान गरिएको हो । पीडित पक्ष र उपमहानगरपालिका बीच गएको बर्ष बैशाखमा पीडित पक्षलाई रोजगारी दिने सहमति भएको थियो । पीडित परिवारको अबस्था दयनीय भएकाले रोजगारी दिने निर्णय भएपछि बालकको शव उठाउन परिवार तयार भएका थिए ।


गएको बैशाखमा भारतीय नम्बर प्लेटको जे ०१अअ०८८५ नम्बरको निशानको कारभित्र तीन वालक मृत भेटिएका थिए । मृतकहरु भिमबहादुर परियारका ९ वर्षीय छोरा किरण, सोही ठाउँका सन्तोष परियारका ७ वर्षीय छोरा सुवास भन्ने सुवर्ण र किरण परियारका ६ वर्षीय छोरा करण रहेका थिए । एक बर्ष अघिदेखि पार्किङमा रहेको उक्त कारमा बच्चाहरु मृत भेटिएका थिए । उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको खुलेको प्रहरीले बताएको छ ।