आयुर्वेद केन्द्रीय विद्यापीठको सभापतिमा अनेरास्ववियुका हेमन्त बञ्जाडे विजयी

टेकराज भण्डारी,
दाङ, ६ चैत ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको आयुर्वेद केन्द्रीय विद्यापीठको स्वतन्त्र विद्यार्थी युनीयनको निर्वाचनमा अनेरास्ववियुका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरि सभापतिमा विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्रबाट अजयप्रताप चोबेले ६१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाल विद्यार्थी संघका वसन्त अधिकारीले ४५ मत प्राप्त गरेका थिए ।

आयुर्वेद केन्द्रीय विद्यापीठमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनीयनको निर्वाचन भएको हो । यस विद्यापीठमा नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच चुनावी मोर्चा भएको थियो ।


प्रत्यक्षतर्फको निर्वाचनमा सचिवमा अखिल क्रान्तिकारीका गणेश पौडेलले विजयी भएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका कुन्दनकुमार जैसवाल, सदस्यहरुमा अनेरास्ववियुबाट अपेक्षा पोख्रेल, अनेरास्ववियु क्रान्तिकारीबाट रोशन चौधरी र मंगल थारु विजयी भएका हुन । कूल एक सय ९७ मत रहेको क्याम्पसमा एक सय ८९ मत खसेको थियो ।

संस्कृत विश्वविद्यालयअन्तर्गत जिल्लामा रहेका तीन वटा क्याम्पसमध्ये आयुर्वेद केन्द्रीय विद्यापीठमा मात्रै निर्वाचन भएको हो । विश्वविद्यालय विद्यापीठ बेलझुण्डी र जनता विद्यापीठ बिजौरीमा नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै तालाबन्दी गरेको छ ।