दाङ, ६ चैत ।
कुनै समय खोला बग्थ्यो । विद्यालयकालागि जग्गा थिएन । त्यही खोलालाई सदुपयोग गरेर विद्यालय चलाउने आँट भयो, त्यहाँका बासिन्दाको । त्यसपछि जन्म भयो– तुलसीपुर उपमहानगरपालिका वडा नं.५ पातुखोलामा ज्ञानज्योति आधारभूत विद्यालय । २०५८ सालमा चन्दा संकलन गरेर विद्यालय निर्माण गरियो । त्यो भवन पनि हावाले उडाएर भत्कियो ।
तर, पनि त्यहाँका बासिन्दाले हिम्मत हारेनन् । पुनः विद्यालय भवन निर्माण गरेर कक्षा सञ्चालन गरे । भवन निर्माण भएपछि सुरूमा कक्षा ३ सम्म चलाए । विद्यालय चलाएपनि शिक्षकलाई तलब खुवाउने कुनै स्रोत थिएन । त्यसपछि गाउँका सबैले मुठ्ठी दान गरेर शिक्षकलाई तलब खुवाए ।“मुठ्ठी दान मार्फत चालम संकलन ग¥यौं”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भने “दानबाट संकलन गरेको चालमलाई बिक्री गरेर शिक्षकलाई तलब खुवाएका थियौं ।”
त्यही विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालय तर्फ नमूना विद्यालयका रूपमा स्थापित छ । अहिले त्यहाँ विद्यालयका ठूला–ठूला भवन मात्रै छैनन्, पढाई पनि उत्तिकै राम्रो छ । त्यसैले पनि त्यो विद्यालय अहिले उपमहानगरपालिकाले नै आधारभूत तर्फ उत्कृष्ट विद्यालयका रूपमा लिएको छ । कक्षा नर्सरी, एलकेजीदेखि ८ सम्म पढाई हुने उक्त विद्यालयमा प्रविधिमैत्री पढाई पनि छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाको माध्यामबाट पठनपाठन भइरहेको छ ।
जहाँ अहिले ४५० बढि विद्यार्थी छन् ।“सुरूमा निकै चुनौति थियो, पहिले खोलो बग्थ्यो, त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौं”विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले भने “अहिले ४५० विद्यार्थी अध्ययनरत छन् ।” त्यहाँ सबै गरीब, दलित तथा पिछडिएका समुदायका बालबालिकाहरू पढ्छन् ।
पातुखोलाका बस्तिहरू प्रायः गिट्टी कुटेर दैनिकी चलाउनेहरू नै अध्ययन गर्छन् । त्यहाँका विद्यार्थीहरूलाई अन्य विद्यालयमा भर्ना गर्ने स्थिति पनि थिएन । त्यसैले त्यहाँ विद्यालयको आवश्यकता देखेपछि पहल लिएको अभिभावक निर्मल परियारले बताए ।“नजिक सेन्टर स्कुल थियो, त्यसमा भर्ना गर्नलाई ठूलो पावर लगाउनु पथ्र्यो”,उनले भने “पावर नपुगे भर्ना गर्न पाउने स्थिति नै रहदैनथ्यो, त्यही भएर पनि हामीले यहाँ विद्यालय स्थापना गरेका हौं ।”
उपमहानगरपालिकाले पनि आधारभूत तर्फको उत्कृष्ट विद्यालय देखाउनु पर्दा त्यही विद्यालयलाई नै देखाउने गर्छ । अति विपन्न समुदायका विद्यार्थीहरू पनि अध्ययन गर्ने र खोलाको किनारलाई पनि व्यवस्थित गरेर विद्यालय सञ्चालनमा ल्याएपछि आफूहरूले यो विद्यालयलाई सहयोग पनि गरेको र प्रोत्साहन पनि गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारले बताए ।
“त्यो विद्यालय एउटा नमूना विद्यालयका रूपमा हामीले लिएका छौं, जहाँ गिट्टी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरीहरू अध्ययन गर्छन”,उनले भने “त्यसपछि त्यहाँको संरचना पनि उत्तिकै राम्रा भएका छन् ।” आधारभूत विद्यालयमा साढे ४ सय विद्यार्थी हुनु भनेको सरकारी विद्यालयकालागि सकारात्मक कुरा रहेको उनको भनाई छ । अहिले त्यहाँ १० जना शिक्षक, ४ जना बालविकास, १ जना निजि तथा एक जना परिचर कार्यरत छन् ।
नजिकै पढ्न पाउँदा विद्यार्थीहरू पनि खुसी भएका छन् । त्यो विद्यालयमा अहिले आफूहरू कक्षा ८ मा पढिरहेको र,त्यसपछि बाहिर स्कुलमा जानुपर्ने अवस्था रहेको भन्दै यो अवस्था अन्त्य हुनुपर्ने विद्यार्थीहरूको माग छ ।“अहिलेसम्म हामीहरू यही विद्यालयमा पढ्यौं”,विद्यार्थी लिला चलाउनेले भने “अब १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो, अहिले नभएपनि हामी पछि आउने विद्यार्थीहरूले कक्षा १० सम्म यही पढ्न पाउँन, भन्ने चाहाना छ ।”
सुरूवातदेखि नै मेघराज
सोही विद्यालयमा सुरूवातदेखि नै मेघराज घिमिरे कार्यरत छन् । उनीसहित तीन जना शिक्षक सुरूवातमा कार्यरत रहेको भएपनि पछि दुई जना शिक्षकले छोडेर गए । त्यसपछि घिमिरेले मात्रै सोही विद्यालय हाँकेका छन् । सुरूवातदेखि नै उनी विद्यालयको प्रधानाध्यापक छन् ।
केही समय उनले निःशुल्क काम गरे ।“सुरूमा हामीले तलब पनि दिन सकेनौं, ६ महिनासम्म निःशुल्क पढाए”, अध्यक्ष विकले भने “६ महिना पछि एक हजार रूपैँया तलब तोकिदिएका हौं ।” साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ६ चैत्र २०७९, सोमबार ११:१७ बजे