
तुलसीपुर, १७ असार । कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख कृष्ण प्रसाद खनालले कम्पनीले सहकारीलाई उपलब्ध गराएको मल एग्रोभेटमा भेटिने गरेको बताएका छन् ।
घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले आयोजना गरेको कार्यक्रममा उनले शहकारीलाई उपलब्ध गराएको मल बदमासी गरेर एग्रोभेटलाई दिने गरेको पाईएको बताएका हुन् । केही महिना अघि बबई गाउँपालिकाको हापुरेमा ठूलै परिमाणमा त्यस्तो मल फेला परेको बताएका छन् ।
सहकारीलाई विश्वास गरेर मल उपलब्ध गराउने गरेको भएपनि त्यो मल आफ्ना आसपासका ब्यक्तीलाई मात्रै दिने गरेको समेत उनले बताए । त्यसले गर्दा आफूहरुले लक्ष्य अनुसारको मल उपलब्ध गराएको भएपनि त्यसको दुरुपयोगले अभाव सिर्जना गर्ने गरेको बताए ।
सबै तिर यस्तै समस्या भइरहेको भन्दै वितरण प्रणालीलाई स्थानीय सरकारले सहज बनाउनु पर्ने उनको भनाई थियो ।
आफ्नो केन्द्रको लक्ष्य अनुसार नै काम भइरहेको भएपनि त्यो लक्ष्यले तुलसीपुर उपमहानगरपालिकाको लागी मात्रै प्रयाप्त नरहेको बताए। उनले भने, “हामीले मल सोझै किसानलाई बेच्न पाउँदैनौं, सहकारीमार्फत वितरण गर्दा प्रभावशाली पावर समूहले बढी मल पाउने र साना किसान वञ्चित हुने गुनासो बढ्दो छ।”
तुलसीपुर केन्द्रले दाङका चार वटा पालिका र छिमेकी सल्यान जिल्लासमेत हेर्नुपर्ने भएकाले माग अनुसार मल र्पुयाउन कठिनाइ भइरहेको उनले बताए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख कुलराज चौधरीले तुलसीपुरमा आवश्यक परेको भन्दा निकै कम मल आएको बताए । तुलसीपुर उपमहानगरपालिकामा बार्षिक युरिया ३४७८ मेट्रिक टन र डिएपी १७३४ मेट्रिक टन आबश्यक पर्नेमा युरिया ६१.८८ प्रतिशत र डिएपी ६०.०६ प्रतिशत मात्रै आपूर्ति हुने गरेको छ ।
घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लाल बहादुर केसीले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न र स्थानीय उत्पादकहरुलाइ प्रोत्साहित गर्न किसान तथा कृषि उद्यमिहरुले सहज रुपमा मल पाउनुपर्ने बताए । स्थानीय उत्पादनलाई प्रवद्र्धनका लागी सक्रिय संस्था घरेलु महासंघ भएकाले विभिन्न सरोकारवालाहरुसङ्ग समन्वय र सहकार्य गर्ने उनले बताए ।



लाइभदाङ । १७ असार २०८२, मंगलवार १०:११ बजे