साढे ६४ लाख नाफामा राप्ती विश्वासी, २५ औं जन्मजयन्ती मनाउँदै

दीपक बोहरा,
तुलसीपुर, ३ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था (रफिकोल) साढे ६५ लाख नाफामा रहेको छ । संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीका अनुसार ६४ लाख ५७ हजार रुपैँया नाफा रहेको छ ।

सेयर सदस्यको पैसा छुट्याएर सोही रकम नाफामा रहेको उनको भनाई छ ।‘अहिले धेरै सहकारीहरु बन्द अबस्थामा छन्, त्यसले राम्रा सहकारीलाई पनि असर गरेको छ’,उनले भने‘तर, हाम्रो सहकारी नाफामा रहेकाले कुनै सेयर सदस्यले पनि शंका नगर्न आग्रह गर्छु ।’

अहिले सहकारीहरुका विषयमा गलत अफवाह फैलाईएको तर, आफ्नो सहकारीमा त्यस्तो कुनै समस्या नरहेको उनको भनाई छ । ठूला ऋणीहरुले पैसा तिर्नुपर्दैन भनेर हावा फैलाएको भन्दै त्यसको पछि नलाग्न पनि उनले सबैमा अनुरोध गरेका छन् । ‘अहिले सहकारीका बारेमा धेरै हावा फैलाईएको छ’,उनले भने‘कुरा बुझ्नु पर्छ, हल्लाको पछि लाग्नु हुँदैन् ।’

आफ्नै भवन, जग्गा पनि रहेको र सहकारी नाफामा रहेको उनको भनाई छ । सोही सहकारीको घोराही रोडमा २ तलाको भवन छ । सोही भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा छ ।

२०५४ साल चैत ८ गते स्थापित उक्त सहकारीमा हाल ३ हजार २ सय ९८ सेयर सदस्यहरु छन् । हाल सहकारीको बैंक मौज्दात ३ करोड २४ लाख छ, भने २१ करोड ६७ लाख ऋण लगानी भएको छ । सहकारीको जम्मा २५ करोड ८५ लाख ७९ हजार रकम रहेको छ । हाल ८ सय १० जनालाई ऋण लगानी गरिएको अध्यक्ष बुढाथोकीले बताए ।

सुरुवातमा ४१ जनाले सञ्चालन गरेको उक्त सहकारी हाल २५ बर्ष पुगेको छ । २५ बर्ष पुगेको अबसरमा आगामी चैत १४ गते भब्य कार्यक्रम आयोजना गर्ने तयारी रहेको संस्थाका उपाध्यक्ष रञ्जनकुमार गौतमले बताए । तत्कालिन अबस्थामा ४१ हजार पुँजीबाट सहकारीले काम सुरु गरेको थियो ।


हाल उक्त सहकारीले दाङको तुलसीपुर उपमहानगरपालिकासहित दंगीशरण,बबई, शान्तिनरलगायतमा कार्यक्षेत्र रहेको छ । बबईको हंसपुर र शान्तिनगरको रगैजामा उक्त सहकारीको सेवा केन्द्र छन् । आफूहरुले बिभिन्न ७ उद्देश्यमा ऋण प्रवाह गर्ने गरिएको छ ।

सहकारीको १३ सदस्यीय कार्य समित र उपसमितिका सदस्यहरु गरि ३६ जना रहको समेत उपाध्यक्ष गौतमले बताए । हाल सहकारीमा ११ जना कर्मचारी पनि कार्यरत छन् । ८ जना केन्द्रीय कार्यालयमा र अन्य ३ जना सेवा केन्द्रमा कार्यरत रहेको उनले बताए ।

कार्यसमितिको नियमित बैठक बस्ने र प्रत्येक बर्ष बार्षिक साधारणसभा गर्ने गरेको समेत उनले बताए ।‘हामीले नियमित गतिबिधिहरु गरिरहेका छौं’,उनले भने‘सेयर सदस्यहरुका सल्लाह सुझाब लिएर कार्यान्वयन गर्छौं ।’
उपाध्यक्ष गौतमका अनुसार सहकारीलाई प्रबिधिमैत्री पनि बनाईएको छ ।

उत्कृष्ट सहकारी
उक्त सहकारी पटक–पटक उत्कृष्ट पनि भएको छ । २०६३ सालमा केन्द्रीय सहकारी संघबाट सम्मानित, २०६४ सालमा उत्कृष्ट सहकारी, २०७१ सालमा नेपाल बचत तथा केन्द्रीय सहकारी संघद्वारा मध्यपश्चिम उत्कृष्ट भएको छ । छरिएर रहेको पुँजीलाई एकीकृत गरि उद्योग धन्दा,ब्यापार, ब्यबसाय, कृषि,पशुपालनलगायतमा ऋण लगानी गर्ने गरेको छ ।

त्यस्तै सहकारीले बिभिन्न समयमा सामाजिक कार्य पनि गर्दै आएको छ । यस अघि सहकारीमा आबद्ध १३४ जनाको निःशुल्क मुटु जाँच गरिएको थियो । बिभिन्न समयमा सरसफाई पनि गर्ने गरिएको छ । साथै केही दिनमा आँखा उपचार शिविर पनि आयोजना गर्ने तयारी रहेको छ ।