ठेकेदार पाण्डेविरुद्धको ठगी मुद्दा प्रक्रिया अघि बढ्यो

दाङ
२६ फागुन /  दाङको घोराही–तुलसीपुर चारलेन निर्माणको क्रममा ठगी गरेको भन्दै ठेकेदार अनुप पाण्डे विरुद्ध परेको मुद्दाको प्रक्रिया अघि बढेको छ । प्रहरी स्रोतका अनुसार मुद्दा दर्ता भएको र थप प्रक्रिया अघि बढेको हो । पाण्डे विरुद्ध पक्राउ पुर्जी जारी भएको हो भनी सोधेको प्रश्नमा प्रहरी अधिकारीले भने‘यो अनुसन्धानकै प्रक्रियामा छ, धेरै कुरा भन्न मिल्दैन्, तपाईले यत्ति बुझ्नुस्, मुद्दा दर्ता भएर प्रक्रिया अघि बढिसकेको छ, यसमा हामीले अनुसन्धान गरिरहेका छौं ।’ स्रोतका अनुसार पाण्डे विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

तुलसीपुर ८ निवासी पाण्डेले घोराही–तुलसीपुर चारलेन बनाउने कार्यको पेटी ठेक्का पाएका थिए । त्यही क्रममा घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुर निवासी गेहेन्द्र बस्नेतको टिप्पर प्रयोग गरेका थिए । त्यो कुरा पाण्डे. आफैले पनि विज्ञप्ति जारी गरि स्वीकार गरेका छन् ।

बस्नेतको टिप्पर र ईन्धनको गरि १ करोड ४४ लाख रुपैँया ठेकेदार पाण्डेले दिनुपर्ने भएपनि नदिएको भन्दै एक महिना अघि जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए । जाहेरी दिएको एक महिना पछि मात्रै मुद्दा दर्ता भएर अनुसन्धानको प्रक्रिया अघि बढेको प्रहरीले बताएको हो । बस्नेतले आफ्नो पाउनु पर्ने रकम पटक–पटक माग गर्दा पनि नदिएको तथा धम्क्याउने कार्य समेत गरेको बताएका छन् । बस्नेत एमालेको जिल्ला स्तरीय नेता पनि हुन् ।


हालैमात्रै बसेको एमालेको बैठकले उनलाई घोराही उपमहानगरपालिकाको इञ्चार्ज समेत तोकेको छ । पाण्डे पनि एमाले निकट हुन् । उनका वुवा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख तथा एमालेका केन्द्रीय सदस्य हुन् । यो केश मिलाउन एमालेका महासचिब शंकर पोखरेलसहित जिल्ला तथा प्रदेशका नेताहरु सक्रिय बनेका थिए । राजनीतिक मुद्दा बन्ने र यसले आगामी निर्वाचनलाई पनि ठूलो क्षति पु¥याउने भएपछि पार्टी पंक्ति पनि सक्रिय भएको थियो । तर, समाधान गर्न सक्ने अबस्था नभएपछि मुद्दा प्रक्रिया अघि बढेको स्रोतले बताएको छ ।

चारलेनको कार्य सम्पन्न हुनुपर्ने बेलामा ७ प्रतिशत मात्रै काम गरेको थियो । भारतीय तथ्य इन्जिनियरिङ एण्ड ईन्फा प्रालिले ठेक्का पाएको भएपनि पाण्डेको अष्ट भैरव निर्माण सेवाले पेटी ठेक्का पाएको थियो । सुरु–सुरुमा तिब्रगतिमा काम अगाडी बढाएको जस्तो देखिएको भएपनि बीचमा भने काम ठप्प भएको थियो । त्यस अछि अहिले पाण्डेबाट ठेक्का खोसिएको छ ।