श्रीमद्भागवत महापुराणमा भक्तजनको घुइँचो, कपडा पनि दान गर्न सकिने

तुलसीपुर २७ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नयाँ बसपार्क पुलचोकमा जारी श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ मा भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको छ । पहिलो र दोस्रो दिनको तुलनामा तेसा्रे दिन शुक्रबार मात्रै महापुराणमा उल्लेखनिय भक्तजनहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

अशक्त, असाहय, दुःखी, गरिबका लागि भोक र प्यास विरुद्धको महाअभियानका साथ जयशिव महाकाल मानव सेवा आश्रमले गएको फागुन २४ गतेदेखि श्रीमद्भागवत महापुरान तथा शिव चर्चा सञ्चालन गरेको छ । खासगरी कोही नभएका र केही नभएकाहरुलाई निःशुल्क रुपमा साँझ बिहान खाना खुवाउँदै आएको जय शिव महाकालले गरिब दुःखीहरुलाई बासस्थान बनाउनको लागि र उपचारमा पनि सहयोग होस् भन्ने उदेश्यका साथ श्रीमद् भागवत महापुरण सञ्चालन गरेको हो ।


महापुराणमा दैनिक रुपमा कथा वाचनका साथै शिव चर्चा समेत हुने गरेको छ । महापुराणको प्रमुख कथा वाचकमा अच्युतशरण धिताल रहेका छन् भने उप कथावाचकमा पण्डीत अंगिरा जोशी रहेका छन् ।
कपडा पनि दान गर्न सकिने
श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ मा भक्तजनहरुले कपडा समेत दान गर्न सक्ने आयोजकले जनाएको छ । पुरानो तर सफा नच्यातिएको कपडाहरु दान गर्न सकिने आयोजक जयशिव महाकालका सचिव शम्भु बुढा मगरले जानकारी दिए ।

हामीसंग थुप्रै कपडाहरु पुरानो भयो भनेर प्रयोग नै नगरेर राखेका हुन्छौ तर कतिपय दुःखी गरिबहरुले त्यही कपडा समेत किनेर लगाउन नसक्ने अवस्था पनि छ सचिव बुढाले भने त्यसकारण हामीले कपडा दानको पनि व्यवस्था गरेका हौं, अहिले कपडा दान गर्नेहरु पनि बढीरहनु भएकोे छ । कपडा दान अभियानलाई पनि निरन्तरता दिने पनि उनले बताए ।