घोराहीमा मगर खाम भाषा प्रशिक्षण शुरू 

घोराही, २९ फागुन ।
मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्र दाङको आयोजनमा आज देखि दाङको घोराहीमा दुईदिने मगर खाम भाषा प्रशिक्षण कार्यक्रम शुरू भएको छ ।

मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्र दाङका अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले मगर भाषाको महत्त्वको वारेमा प्रकाश पारेका थिए । उनीहरूले मुलुकको समग्र विकासका लागि हरेका भाषा तथा संस्कृतिको संरक्षण हुनुपर्ने धारणा व्यक्त गरेका थिए । सबै भाषाको संरक्षणका लागि राज्यले विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल मगर संघ लुम्बिनी प्रदेशका सल्लाहकार हरिमान पुनले स्थानीय भाषाहरूलाई सरकारी कामकाजमा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उपाध्यक्ष खगेन्द्र पुनको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन महासचिव प्रकाश पुनले गर्नुभएको थियो ।