उपमहानगरले जग्गा भाडा नतिरेपछि सेन्टरले असूल्न थाल्यो सटर भाडा

दीपक बोहरा,
दाङ, २९ फागुन ।
दाङ तुलसीपुर उपमहानगरपालिकाले तरकारी बजार केन्द्र निर्माण स्थलको जग्गाको भाडा तिर्न सकेको छैन । सेन्टर स्कुलको १२ कठ्ठा जग्गामा तरकारी मन्डि निर्माण गरिएको भएपनि त्यो जग्गाको भाडा नतिरेपछि सेन्टर स्कुलले आफैले भाडा उठाउन थालेको छ । २०७५ माघ १ गतेदेखि लागु हुने गरि त्रिपक्षिय सम्झौता भएको थियो । त्यो सम्झौतामा सेन्टर स्कुलको १० कठ्ठा जग्गा उपमहानगरपालिकालाई भाडामा दिने कुरा उल्लेख थियो ।

त्यो बापत मासिक एक लाख भाडा दिने गरि सहमति भएको थियो । तर, उपमहानगरपालिकाले त्यो सहमति पालन गरेन् । त्यसैले अहिले सेन्टर स्कुलले नै तरकारी मन्डीको भाडा उठाउँदै आएको छ । गएको बर्ष मंसीर देखि आफूहरूले नै मण्डीको भाडा उठाएको स्कुलका प्रधानाध्यापक भागवत पौडेलले बताए । त्यो भन्दा पहिले उपमहानगरपालिकाले नै व्यवसायीहरूबाट भाडा उठाउँर्दै आएको थियो ।

त्यहाँका ३६ वटा सटरबाट भाडा उठाउने गरिएको छ । यसअघि उपमहानगर–पालिकाले उठाएको भाडा करिब ४४ लाख छ । तर, आफूले भाडा उठाएको भएपनि जग्गा वापतको भाडा सेन्टर स्कुललाई नदिएपछि स्कुल आफैले त्यहाँको भाडा जफत गरेको हो ।“धेरै पटक हामीले उपमहानगरपालिकालाई भाडा माग ग¥यौं, भाडा नदिएपनि भवन निर्माण गरिदिन माग ग¥यौं”,उनले भने“तर, त्यो रकम नआएपछि आफैले भाडा उठाउन थालेका हौं ।” सम्झौतामा तरकारी मन्डीको भाडा उपमहानगरपालिकाले उठाउने र सेन्टर स्कुललाई उपलब्ध गराउने भन्नेछ ।

उपमहानगरपालिकाले पनि आफूले दिनुपर्ने रकम दिन नसकेको स्वीकार गरेको छ । उपमहामनगरपालिका अहिले तिर्नुपर्ने दायित्व धेरै छ । तर, सेन्टर स्कुललाई तिर्नुपर्ने दायित्व रातो किताबमा समावेश हुन नसकेकाले तिर्न नसकिएको उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख ललित घर्तीले बताए ।“ सेन्टर स्कुलको रकम हामीले तिर्नुपर्ने हो”,उनले भने“तर, रातो किताबमा त्यो तिर्नुपर्ने दायित्व समावेश नभएकाले तिर्न सकिएन् ।”

उपमहानगरपालिकाले केही वर्षको भुक्तानी सेन्टर स्कुललाई दिन बाँकी रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए । त्यो रकम नदिएपछि सेन्टरले आफै भाडा उठाउने गरेको उनको भनाई छ । उपमहानगरपालिका स्रोतका अनुसार उपमहानगरपालिका ऋणमा डुबेकाले आफूले तिर्नुपर्ने रकम धेरै स्थानमा तिर्न सकेको छैन, भने आफ्नो आम्दानीका स्रोतलाई पनि चुस्त बनाउन नसक्दा समस्यामा परेको छ ।

धेरै आम्दानीका स्रोतहरूमा उपमहानगरपालिकाले आँखा लगाउन सकेको छैन । तरकारी मन्डीकालागि मात्रै पनि उपमहानगरपालिका मार्फत तराई मधेश समृद्धि कार्यक्रमको १ करोड बढि बजेट खर्च भएको छ,भने व्यवसायीहरूको लगानी समेत गरि २ करोड ३३ लाखमा तरकारी मन्डी सञ्चालनमा आएको हो ।


त्यो भन्दा अघि उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ तरकारी मन्डी थियो । त्यहाँ उपमहानगरपालिकाको ट्रेड टावर निर्माण गर्नकालागि तुलसीपुर ६ स्थित सेन्टर स्कुलको उत्तरतर्फको जग्गामा तरकारी मन्डी निर्माण गरिएको थियो । उपमहानगरपालिका, व्यवसायी र सेन्टर स्कुलकाबीच त्रिपक्षिय सम्झौता भएर त्यहाँ तरकारी बजार निर्माण गरिएको हो ।

त्यहाँ तत्कालिन अवस्थामा १० कठ्ठा मात्रै जग्गा भाडा लिने सम्झौता भएपनि पर्खाललगायतका संरचना निर्माण गर्दा १२ कठ्ठा १७ धुर जग्गा भाडामा गएको छ । सोही अनुसार सेन्टर स्कुलले भाडा माग गरिरहेको छ । एक लाख भाडा १० कठ्ठा जग्गा लिएपछिको मात्रै सम्झौता रहेको र १२ कठ्ठा १७ धुर जग्गा नै प्रयोग भएपछि त्यही अनुसार नै भाडा माग गरेको छ । प्रति कठ्ठा मासिक १० हजारका दरले १ लाख २१ हजार भाडा नै लिन माग गरेको छ ।

त्यति मात्रै नभई सेन्टर स्कुल सम्झौता तोडेर स्कुलले आफू अनुकूल बनाउन खोजेको समेत स्रोतले बताएको छ । हाल त्यहाँका व्यवसायीबाट मासिक १ लाख ५७ हजार रूपैयाँ भाडा बापत सेन्टर स्कुलले उठाउने गरेको छ । एउटा सटरलाई पाँचहजार पाँच सय रूपैँया भाडा उपलब्ध गराउने गरेको तरकारी मन्डी ब्यबस्थापन समितिका अध्यक्ष माधव घिमिरेले बताए ।

यो विषयमा तुलसीपुर उपमहानगरपालिकाको नगरसभामा पनि छलफल भएको थियो । उपमहानगरपालिकाले लगानी गरेपनि ती सटरबाट कुनै पनि आम्दानी लिन नसकेको भन्दै लेखा समितिले प्रश्न चिन्ह पनि उठाएको छ । लेखा समिति संयोजक घनश्याम ढकालले उपमहानगरपालिकाको आठौं कार्यपालिका बैठकमा पेश गरेको प्रतिवेदन उपमहानगरपालिकाले बहुमतले पास गरेको थियो ।

जुन प्रतिवेदनमा तरकारी हाटबजारको लगानी नगरपालिकाले गरेको तर, भाडा रकम हाल सेन्टर स्कुलले एकलौटी लिइरहेकोको भन्दै उपमहानगरपालिकाले आम्दानी लिन पाउने गरि उपाय खोज्न सुझाब दिएको थियो । तरकारी बजारमा हाल १६ वटामा तरकारी ब्यापार, १९ वटा कोठामा फलफूल ब्यापार गर्ने गरिएको छ । २०६८ सालमा उक्त बजार दर्ता गरि सञ्चालनमा ल्याईएको हो । साभारः अग्रिम साप्ताहिक