अञ्जानमा घर बनाउनप्रति उद्दार बन्दै‘तुलसीपुर’

दाङ,२६ फागुन ।
तुलसीपुर उपमहानगरपालिकाले आफ्नो नाममा रहेको जग्गाको खोजी गरेको छ । केही समय अघि सूचना प्रकाशन गरेर आफ्नो नाममा भएको जग्गामा बनेका घरहरु हटाउने बताएको थियो । त्यसकालागि आफ्नो जग्गाको विस्तृत विवरण तयार गर्न अध्ययन कार्य गरिएको उपमहानगरपालिकाका प्रबक्ता माधव वलीले बताए ।‘हामीले जग्गाको खोजी गर्ने कार्यको अध्ययन पूरा गरेका छौं’,उनले भने‘अबको केही समयमा प्रतिवेदन आउछ, त्यो प्रतिवेदन आएपछि हामीले जग्गा ब्यबस्थापनको काम हुन्छ ।’

प्रबक्ता वलीले आफ्नो नाममा रहेको जग्गामा बनेका घरहरुलाई तीन किसिमले विभाजन गरेर काम अघि बढाउने बताए । कोही जानिजानी बसेको, केही जग्गा २०५३ सालमा बेचिएको र केही जग्गा उपमहानगरपालिकाको भएको भन्ने थाहा नभएर बसेको पाईएको प्रबक्ता वलीको भनाई छ । ‘तत्कालिन अबस्थामा नगरपालिकाले आफ्नो जग्गामा तारबार गरेको थियो, तर केही जग्गामा तारबार गर्न छुटेछ’,उनले भने‘तारवार गरेको भन्दा बाहिरको जग्गा ऐलानी होला भनठानेर घर बनाएकाहरु पनि पाईयो, यसको विषयमा भने हामी सामाजिक न्यायका आधारमा काम गर्छौं ।’

जानाजान उपमहानगरपालिकाको जग्गामा बनेका घरहरुलाई भने हटाउने नै तयारी रहेको भएपनि अञ्जानमा बसेकाहरुलाई भने सामाजिक न्यायका आधारमा प्रक्रिया अघि बढाउने उनको भनाई छ ।

२०५३ सालमा तत्कालिन नगरपालिकालाई ५ विघा जग्गा बेच्न अनुमति दिएको भन्दै तत्कालिन अबस्थामा साढे २ विघा जग्गा मात्रै विक्री भएको समेत उनले बताए । बाँकी साढे २ विघा जग्गा भने उपमहानगरपालिकाले विक्री गर्ने समेत बताए ।


उपमहानगरपालिका कार्यालयको कित्ता नं. ५(घ) ८१२ मा केही जग्गा अतिक्रमण परेको छ । त्यो जग्गामा बनेका घरहरु भने घरधनीले आफै हटाउन थालेका छन् ।

उपमहानगरपालिकाका पाँच वटा कित्ता रहेका छन् । ति मध्ये तुलसीपुर बसपार्कको उत्तर तर्फ आलुमण्डी आसपासको कित्ता नं.५(ख) ५४४ मा १ विघा १० कठ्ठा १४ धुर जग्गा छ । त्यस्तै कित्ता नं.५(ख) कै ५४५ मा ३४ कठ्ठा, ५(ख) ५४६ मा ११ कठ्ठा र ५(ख)४९९३ मा ५३ हजार ५ सय ६५ वर्ग मिटर जग्गा रहेको छ । ति मध्ये अधिकांस जग्गा अतिक्रमणमा परेको छ ।

उपमहानगरपालिकाले कात्तिक ३ गते नै जग्गा खाली गरिदिन भन्दै ३५ दिने सूचना जारी गरेको थियो । तर, सूचना प्रकाशित भएको ३५ दिन कटि सक्दा पनि चासो नदिएको भन्दै नागरिकले ध्यानाकर्षण गराईरहेका छन् । तर, आफूहरु नियमित यही कार्यमा लागिरहेको नगरप्रमुख टिकाराम खड्काले बताउँदै आउनुभएको छ ।

प्रमुख खड्काले ति मध्ये बास्तविक सुकुम्वासी भएमा भने निश्चित ठाउँमा ब्यबास्थापन गर्ने बताउनुभयो । केहीले २०५६ सम्म उपमहानगरपालिकालाई भाडा तिर्ने गरेको भएपनि पछिल्लो समय भाडा पनि नतिरेको पाईएको प्रमुख खड्काले बताउनुभयो । सूचना प्रकाशन पनि केही ब्यक्ती कार्यालयमा आएर छुट गरेर भाडा तिर्ने समेत प्रतिबद्धता जनाएको समेत बताए ।