
तुलसीपुर, ६ बैशाख । दाङको तुलसीपुरमा ‘स्थानीय उत्पादन र व्यवसाय सम्बद्र्धनः हाम्रो भूमिका’ विषयक सरोकारवालाबीच अन्तरक्रिया भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य धन बहादुर मास्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि मास्कीले उत्पादन र रोजगारी सृजनालाई ध्यान दिनुपर्ने बताए । उनले प्रदेशस्तरबाट आवश्यक नीति, बजेट र प्रविधिको पहुँचलाई सुनिश्चित गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
त्यस्तै ग्रीन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले स्थानीय स्रोत साधनको उपयोग गर्नुपर्ने बताए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष माधब ओलीले स्थानीय तहले व्यवसायमैत्री नीति ल्याएको बताए। इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख महेश गुरुङले प्रशासन सधैं व्यवसायी तथा उद्यमीको साथमा रहेको र व्यवसाय सञ्चालनका कानुनी तथा प्राविधिक पक्षहरूमा सहजीकरण गर्न तत्पर रहेको जानकारी दिए ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख हिरानन्द देवकोटाले साना तथा घरेलु व्यवसायप्रति कर प्रणाली लचकदार बनाइँदै आएको र कर तिर्ने संस्कृतिको विकासमा करदाताको सकारात्मक सहभागिता आवश्यक रहेको बताए । खाद्य, गुण तथा नियन्त्रण कार्यालयका सूचना अधिकृत बिबेक कुमार सुवेदीले गुणस्तरीय उत्पादन उपभोक्ताको अधिकारसँग जोडिएको विषय भएकोले स्थानीय स्तरमै गुणस्तर मापदण्ड कायम गर्न उत्पादक स्वयं जिम्मेवार बन्नुपर्ने धारणा राखे ।
कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष केसीले साना तथा घरेलु उद्योग स्थानीय अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै नीति निर्मातादेखि उपभोक्तासम्म सबैको साझा प्रयास आवश्यक रहेको बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा व्यवसाय संवर्दन केन्द्रका सदस्य लक्ष्मण विश्वकर्मा, तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, तुलसीपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष कुमार खड्का, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका उपाध्यक्ष टिकाजङ ओलीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।



लाइभदाङ । ६ बैशाख २०८२, शनिबार २०:३८ बजे