शान्तिनगरको विवाद मिल्यो, अबैद्य उत्खनन् स्थानमा अनुगमन गरिने

दीपक बोहरा
दाङ,२५ फागुन ।
दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सुनिल वलीले पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गर्न खोजेको भन्दै उत्पन्न विवाद समाधान भएको छ ।

गएका शुक्रबार पालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कालाई चिया टेबल उठाएर हिर्काउन खोजेको भन्दै पालिकाका सबै कर्मचारीले सेवा नै ठप्प पारेका थिए । त्यो संगै बबई गाउँपालिकाका कर्मचारीले पनि हातमा कालोपट्टी बाँधेर सेवा प्र्रवाह गरेका थिए, भने दंगीशरण गाउँपालिकाका कर्मचारीले पनि यसको विरोध जनाएका थिए ।

शान्तिनगरको २ र ५ नम्बर वडामा पर्ने बहुला खोलाको विष्णुपुर घाटमा मापदण्ड विपरित उत्खनन् भइरहेको भन्दै वडाध्यक्षले समाधानकालागि माग गर्दा पनि सुनुवाई नभएको भन्दै पालिकामा गएर छलफलका क्रममा हातपातको अबस्थासम्म पुगेको थियो । त्यस क्षेत्रको विवाद पछि उत्खनन् कार्य रोकिएको छ ।


बुधबार घोराहीमा भएको सहमति अनुसार मापदण्ड विपरित उत्खनन् भएको स्थानमा जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालयलगायत निकायले अनुगमन गर्नेछन् । पालिका अध्यक्ष बस्नेतका अनुसार केही दिनमा ति निकायले अनुगमन गर्ने छन् । त्यो बाहेक पालिकाका कर्मचारीले ठप्प पारेको सेवा प्रवाहलाई सूचारु गर्ने सहमति भएको छ । सोही अनुसार विहीबारदेखि कर्मचारीले काम थालेको पालिका अध्यक्ष बस्नेतको भनाई छ । गएको शुक्रबार विहान साढे ११ बजेतिर पालिका अध्यक्षको कार्यकक्षमा यस्तो अबस्था सिर्जना भएको थियो ।

विष्णुपुर घाटमा कार्यपालिका बैठकले उत्खनन्को जिम्मा दिएको हो । कार्यपालिकाको गएको पुस २१ गतेको निर्णय अनुसार सोही क्षेत्रमा उत्खनन्को जिम्मा दंगीशरण ३ स्थित सनलाईट निर्माणलाई दिईएको थियो । सोही क्षेत्रमा सनलाईटले एक हजार ६ सय घनमिटर जति अहिले उत्खनन् गरिसकेको छ । त्यस स्थानमा केही मापदण्ड विपरित उत्खनन् भएको स्थानमा खाडलहरु पुर्न थालेको भन्दै त्यसमा आफूहरुले सचेत बनाउने गरेको शान्तिनगर २ का वडाध्यक्ष वलीले बताए ।‘आज विहान मात्रै पनि यहाँ पारिएका खाल्डा पुर्न जेसीवी आएको रहेछ’,उनले भने‘म आएर ति जेसीवीलाई काम बन्द गर्न लगाएँ ।’

तोकिएको क्षेत्र भन्दा बाहिर उत्खनन् भएकाले त्यसमा आफूले ध्यानाकर्षण गराएको उनले बताए । साथै ठेली नकाटेर ओसार पसार भइरहेको समेत वडाध्यक्ष वलीले बताए ।“दिनमा १५ वटा टिप्पर चल्छन्”,उनले भने“तर, एउटै ठेलीबाट काम भइरहेको छ, यही विषयमा मैले ध्यानाकर्षण गराएको हुँ ।”