जनजीविकाका सवाललाई प्रभावकारीरुपमा उठाउन मन्त्री शर्माको कार्यकर्तालाई निर्देशन

धादिङ, २३ फागुन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले जनताको जीवनसँग जोडिएका मुद्दालाई प्रभावकारीरुपमा अघि बढाउन आफ्नो पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । धादिङको गल्छी गाउँपालिका र धुनिवेशी नगरपालिकाका कार्यकर्ताहरुसँगको भेटमा उहाँले सो निर्देशन दिनुभएको छ ।

‘हामी सकारको नेतृत्व गरिरहेका छौं, बागमतिलगायत केही प्रदेशको पनि नेतृत्व गरेका छौं’– उहाँले भन्नुुभयो– ‘कयौं पालिका र वडा तहमा पनि हामीले नेतृत्व गरेका छौं, यो बेलामा जनताले हामीबाट धेरै आशा गरेका छन् ।’

पार्टी र सरकारसम्म जनताका आवाज पुर्याउने मुख्य भूमिका स्थानीयस्तरका नेता कार्यकर्ताको हुने भएकाले यो भूमिकालाई प्रभावकारीरुपमा अघि बढाउन नेता कार्यकर्ता निस्वार्थ र सेवा भावसहित लाग्नुपर्ने पनि उहाँले बताउनुभयो । ‘हामी जनताकै जीवन परिवर्तनका लागि आफ्नो जीवनको समेत पर्वाह गरी राजनीतिमा लागेका छौं, हामीसँगैका कयौं साथीहरु सहिद हुनुभयो’– उहाँले भन्नुभयो– ‘हामी जोजसले जे जिम्मेवारी पाएका छौं, सहिदका सपना र जनताको भावनालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।’


अहिले शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले यसैमा टेकेर नेतृत्व र पार्टीमाथि प्रहार गर्न थालिएको उल्लेख गर्दै उहाँले सरकारले जतिसक्दो चाँडो शान्ति प्रक्रियालाई पूर्णता दिने काममा सरकार लागेको बताउनुभयो । पार्टी र नेतृत्वमाथि विभिन्न कोणबाट भइरहेका प्रहारबाट हतोत्साहित नहुनु कार्यकर्तालाई आग्रह गर्दै उहाँले पार्टी र नेतृत्व अझ मजबुत भएर अघि बढ्ने पनि बताउनुभयो ।

सो क्रममा माओवादी केन्द्र धुनीवेशी गाउँपालिका समिति अध्यक्ष राजकुमार पाठक, गल्छी गाउँपालिका समिति अध्यक्ष रामशरण सिन्चुरीलगायतले पार्टी गतिबिधिबारे रिपोर्टिङ गर्दै धादिङमा पार्टीको अवस्था सुदृढ बन्दै गएको बताउनुभएको थियो ।