काठमाडौं, २ पुष ।
कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि सरकारले खोप आयात गरेको छैन । सङ्क्रमण घट्दै गएको र खोप मौज्दात नै रहेकाले सरकारले तीन महिनादेखि कोरोना भाइरसविरुद्धको खोप नल्याइएको हो ।
सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा. सुरेन्द्र चौरसियाले बताउनुभयो । कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउनेको सङ्ख्या कम हुनु र आवश्यक परेमा खोप मौज्दात नै रहेकाले थप खोप नल्याइएको उहाँको भनाई छ ।
अहिले सङ्क्रमण दर एक प्रतिशत भन्दा पनि कम रहेको छ । अन्तिम पटक गएको भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको थियो । त्यसयता सरकारले खोप ल्याइएको छैन ।
अहिले प्रदेश र जिल्लाबाट पनि खोपको माग भएको छैन ‘माग नभएपछि त्यतिकै राख्नुपर्छ भनेर हामीले खोप ल्याएका छैनौँ, उहाँले भन्नुभयो,तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौँ ।
’ सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ । पहिलो र दोस्रो मात्रा लगाएकाहरुका लागि थप मात्रा लगाउन खोप ल्याउने आपूर्ति व्यवस्थापन शाखाप्रमुख चौरसियाले जानकारी दिनुभयो ।
नेपालमा पटक पटक गरी अहिलेसम्म ६ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेको छ । नेपालमा कोभिशिल्ड, भेरोसेल, मोर्डना, एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सन र फाइजरलगायतका कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
अझै पनि ४९ लाख २१ हजार ६ सय ३२ मात्रा खोप मौज्दात छ । नेपालमा कूल लक्षित जनसङ्ख्यामध्ये ९९ दशमलव ५ प्रतिशतमा पहिलो मात्रा र ९५ दशमलव ७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकिएको छ ।
लाइभदाङ । २ पुष २०७९, शनिबार १७:०४ बजे