
आलोक भावुक
राजपुर, १६ भदौ ।
भोटेकोशीमा आएको विनाशकारी बाढी तथा विपद्जन्य घटनाबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राजपुर गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
सोमबार बसेको राजपुर गाउँ कार्यपालिकाको बैठकले आ.व. २०८३/०८४ का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत “विपद्जन्य घटनाबाट सिर्जित समस्याको व्यवस्थापन” शीर्षकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.१० लाख सहायता रकम प्रदान गर्ने निर्णय गरेको हो।
बैठकले भोटेकोशी बाढी तथा अन्य विपद्जन्य घटनामा परी ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन रहेका नागरिकहरूको छिटोभन्दा छिटो सकुशल उद्धारको अपेक्षा गरेको छ।
सम्पर्कविहीन नागरिकहरूको खोजी, उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने निर्णयसमेत गाउँ कार्यपालिकाले गरेको छ।
विपद्को यस कठिन घडीमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले राजपुर गाउँपालिकाले उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।



लाइभदाङ । १५ भाद्र २०८३, सोमबार १६:५३ बजे