लुम्बिनीमा एकै पटक ६ दलले समर्थन फिर्ता लिने

दीपक बोहरा
दाङ, १७ फागुन ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि लुम्बिनीमा पनि सत्ता समीकरण फेर्ने कसरत चलिरहेको छ । लुम्बिनीमा प्रदेश सरकारलाई समर्थन दिएका ६ वटै दलले एकैपटक समर्थन फिर्ता लिने गरि तयारी गरेका छन् ।

सरकारलाई समर्थन फिर्ता लिएका ६ वटा दलसहित केन्द्रको सत्तापक्ष गठबन्धनमा रहेका काँग्रेस र एकीकृत समाजवादी पार्टी गरि ८ दलको बुधबार भालुवाङमा भएको बैठकले एकैपटक समर्थन फिर्ता लिने निर्णय भएको काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताए ।‘आज ८ दलको बैठक बस्यो, सरकारलाई समर्थन दिएका दलले एकैपटक समर्थन फिर्ता लिने निर्णय भएको छ’,उनले भने‘त्यसपछि ८ दलको संयुक्त सरकार बन्नेछ ।’

हाल एमालेका लिला गिरी मुख्यमन्त्री छन् । उनलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी,राप्रपा, जसपा, जनमत, लोसपा, एकीकृत समाजवादी पार्टी र २ जना स्वतन्त्र सांसद गरि ५७ जनाले विश्वासको मत दिएका थिए । तर, अब समर्थन दिएका माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी,जसपा, जनमत, लोसपा र स्वतन्त्रले एकैपटक शुक्रबार समर्थन फिर्ता लिने तयारी रहेको लोसपा संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयले बताए ।‘आज ८ दलको संसदीय दलका नेताको बैठक भयो’,उनले भने‘पर्सी(शुक्रबार) एकैपटक सत्तामा गएका दलले समर्थन फिर्ता लिने तयारी भयो ।’


शुक्रबार राष्ट्रपति निर्वाचनको सन्दर्भमा केन्द्रका शीर्ष नेताहरु देउखुरीको पौवा होटेलमा आउने कार्यक्रम रहेको भन्दै त्यही कार्यक्रम पछि सामूहिक समर्थन फिर्ता लिने उनको भनाई छ । समर्थन फिर्ता लिएसंगै ८ दलको सामूहिक सरकार बन्नेछ ।

काँग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ती पार्टीका ४, जसपा,जनमत र लोसपाका ३÷३,एकीकृत समाजवादीका १ र स्वतन्त्र २ जना सांसद गरि ५३ सांसदको समर्थनमा नयाँ सरकार बनाउने उनले बताए । लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसद छन् ।