सुन्दर छिल्लीकोटका पीडादायी ब्यथा भ्यूटावरबाट देखिन्छन्, छिल्लीकोट पुग्ने धुलाम्मे सडक

अन्जना बिश्वकर्मा,
दाङ, १५ फागुन /
तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लीकोट दाङको एउटा पर्यटकीय गन्तब्य हो । जहाँ आफै‘भ्यूटावर’जस्ता डाँडाकाँडाहरू छन् । त्यहाँ भ्यूटावर निर्माण गरिएको छ । जसको उद्देश्य हो–पर्यटन प्रबद्र्धन गर्ने । तर, त्यहाँ निर्माण गरिएको भ्यूटावरबाट छिल्लीकोट पुग्ने धुलाम्मे सडकलाई नै बढि नियाल्छ । त्यहाँ पुग्ने जो कोही छिल्लीकोट पुग्ने सडकको दुर्दशा हेर्छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित छिल्लीकोटबाट सिस्ने हिमाल, धौलागिरी हिमाल त्यहाँबाट देख्न सकिन्छ । त्यहाँबाट दाङका फाँटहरू देख्न सकिन्छ । रूकुम,सल्यान, रोल्पालगायत बाँके जिल्लाका केही स्थानहरू त्यहाँबाट अवलोकन गर्न सकिन्छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले उत्तम मानिएको त्यस क्षेत्रमा पुग्ने सडक भने गतिलो छैन । सुन्दर दृष्य हेर्न जानेहरू धुलाम्मे हुनुपर्छ । ठूला गाडीलाई केही सहज भएपनि मोटरसाईकलमा जाँदा धुलाम्मे हुने अवस्था छ ।

१५/१६ औं शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ठाउँ छिल्लीकोटमा पर्यटनको आकर्षणको केन्द्र हो । त्यहाँ अहिले वेलझुण्डी र संग्राम ब्यारेक गरेर दुई वटा सडकबाट छिल्लीकोट पुग्ने गरिन्छ । त्यहाँबाट ७ किलोमिटर हिडेपछि ऐतिहासिक तथा पर्यटकीय क्षेत्र छिल्लीकोट पुग्ने गरिन्छ । बिजौरीको हाडिमे हुँदै छिल्लीकोट पुग्ने सडक अहिले कालोपत्रै हुँदैछ । त्यो सडक कालो पत्रे भएपछि भने पर्यटकहरू सहजै छिल्लीकोट पुग्न सक्नेछन् ।

सोनापुर सिमेन्ट उद्योगले रिचेगोदेवाट चुनढुंगा ल्याउनकालागि खनेको सडकमा अहिले छिल्लीकोट पुग्ने गन्तब्य बनेको छ । तर, निकै धुलाम्य हुन्छ । बिजौरी, बेलझुण्डीबाट हिडेको मान्छेको स्वरूप छिल्लीकोट पुग्दा अर्कै भईसक्छ । चिन्न पनि हाम्मे–हाम्मे पर्छ ।

मोटरसाईकल, स्कुटर मात्रै होईन्, तुलसीपुरबाट धुलाम्य हुँदै छिल्लीकोट अवलोकन गर्नेहरूको संख्या पनि कम छैन् । कोही बाटोमा सिमेन्ट उद्योगका टिप्पर भेटिएपनि रोकर त्यसमै चढेर पुग्छन्, भने छिल्लीकोट पुग्ने जो कोही गाडीहरू भेटिएपनि रोक्दै गाडीमा चढ्दै गर्छन् । बिजौरी, बेलझुण्डीदेखि छिल्लीकोट जाने बाटोमा दिउँसो प्रायः छिल्लीकोट पुग्ने पर्यटकहरूको घुइँचो लाग्ने गर्छ ।

छिल्लीकोट पुग्ने सडक कालोपत्रे भएपछि सहज सहज रूपमा आवत जावत हुनेछ । यसले पर्यटकको संख्यालाई थप बृद्धि गर्ने स्थानीय पूर्ण पुनले बताए । उनले भने “सडक व्यवस्थित भएमा यहाँ पर्यटकको घुँँइँचो लाग्ने गर्छ ।” १५/१६,औं शताब्दीमा जुम्लाबाट आएका चल्ल वंशीय राजा मेघनाथ शाहले राज्य सञ्चालनका लागि रोजे र राज्य सञ्चालन गरे यो भन्दा पहिले यस ठाँउको नाम धार्मिक शास्त्रअनुसार (मल्लागिरी), पर्वत (पहाड) हो । अर्थात छिल्लीकोटको प्राचीन नाम मल्लागिरी हो । पुर्णागिरी भारतमा पर्दछ, भने चन्द्रागिरी काठमाँडौको उत्तरी भू–भागमा पर्दछ । छिल्लीकोटमा कालिका–मालिका देवी भगवतीको मन्दिर निर्माण भएको छ ।


मन्दिर पुग्नकालागि सीडी पनि निर्माण गरिएको स्थानीय पूर्ण पुनले बताए । छिल्लीकोटबाट खुमखानी राजाले राज गरेको स्थान पनि देखिन्छ । कुनै समय छिल्लीकोट राजा र खुमखानी राजा आपसमा लडेको र त्यतिबेला छिल्लीकोटे राजाले खुमखानी राजालाई प्रहार गर्ने तोप पनि ऐतिहाँसिक वस्तुका रूपमा हेर्न सकिन्छ । त्यहाँ छिल्लीकोटे राजा बसेको घर र बस्न प्रयोग गरेका ढुंगाका अवशेषहरू पनि हेर्न सकिन्छ ।

त्यसले त्यहाँको जीवनस्तर पनि निकै माथि उठाएको छ । सुमुन्द्र सतहदेखि १४१० मिटर रहेको छिल्लीकोट तुलसीपुर १९ मा पर्छ । जुन रोल्पाको रून्टीगढी गाँउपालिकाको सीमाना पनि पर्छ । त्यहाँ कालिका– मालिका, गणेशथान,भैरवथान,शिवजी थान, हवन कुण्ड, रक्तकुण्ड, वुद्धढुङ्गा, गुप्तेश्वरी गुफा, छिल्लीकोट राजगडी, राजमाको तोप, राजाका शिलाढुङ्गा चौकी, इन्द्र चोक, टुडीखेललगायत छन् । नेपाल एकीकरण गर्ने सिलसिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वी नारायण शाहका भाई बहादुर शाह नायक बनि नेपाल एकीकरण गर्ने क्रममा छिल्ली राज्य गाभिएको हो ।

छिल्लीकोटबाटै मालपोत कार्यालय पनि सञ्चालनमा आएको थियो । सरकारले क्षेत्रलाई अधिकार दिने काममा बटौली खसेउली वर्तमान बुटवल शासन गर्नका नेपालगञ्जमा गोश्वारा स्थापना भई शासन प्रशासन जमिन्दार, पटवारी मुखिया तालुकदार, मतवा स्थापना भई शासन प्रशासन सञ्चालनमा आएपछि मालपोत कार्यालय माल अड्डाले हेर्ने टुंगो लागेको थियो । त्यो माल कार्यालय तत्कालिन दाङको सदरमुकाम छिल्लीकोटमा रहेको थियो । २००६ सालसम्म त्यहाँ मालपोत कार्यालय रहेको प्रमाणहरू अहिले पनि सुरक्षित छन् । अर्कोतर्फ धार्मिक रूपमा संसारमा रहेका तीनवटा गिरी मध्ये पुर्णागिरी भारतमा पर्दछ ।

चन्द्रागिरी काठमाडौंमा पर्दछ, भने मल्लागिरी दाङको छिल्लीकोटमा पर्दछ । यहाँ सतीदेवीको अंग पतन भई कालिका मालिका देवी भगवती उत्पती भएको विश्वास गरिन्छ । पछि छिल्ली राजाले देवकोटा व्राहमणलाई पुजारी राखी कालिका मालिका भगवती मन्दिर बनाई विधिपूर्वक पुजा आजा गर्ने चलनको शुरूवात गरेका हुन् । राजाले भोटबाट लामा गुरू बोलाई बुद्ध ढुंगाको समेत पूजा चलाएको किम्बदन्ती छ ।

पछि आएर २००६, सालदेखि ०२२, सालसम्म यहाँकै भगवतीले रूचाएर अमृता घर्ती मगरलाई ओलप्पाई माताका रूपमा प्रकट गरेको मानिन्छ । यीनै कुराहरू छिल्लीकोटका सुन्दरता हुन् । ऐतिहासिक र धार्मिक कुराहरूलाई लिएर अहिले संघीय, प्रदेश र स्थानीय तहले छिल्लीकोटलाई दाङकै एउटा प्रमुख पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । सोही अनुसार वर्षेनी बजेट विनियोजन भइरहेको छ । करोडौं बजेट छिल्लीकोटमा गएको छ । यो बजेटले काम पनि भइरहेको छ । त्यहाँका नागरिकको जीवन स्तर पनि सुधार हुँदै गएको छ ।

“कुनै समय बिजौरीबाट पैदल हिडेर छिल्लीकोट पुग्नुपर्ने अवस्था थियो”, स्थानीय ओमप्रकाश पुनले भने “अहिले हिलाम्मे, धुलाम्मे जे भएपनि छिल्लीकोटमै सडक पुगेको छ, यसले निकै सहज भएको छ ।” साभारः अग्रिम साप्ताहिक