दाङको टरिगाउँ एयरपोर्ट पटक–पटक राजनीतिक खिचातानीमा पिल्सिएको छ । एयरपोर्टका सन्दर्भमा दाङकै नेताहरू पनि एकजुट छैनन् । एउटाले काम गर्न खोज्दा, अर्कोले खुट्टा तान्ने प्रवृतिले गर्दा यो एयरपोर्ट स्तरवृति हुन सकेको छैन । आएका जहाजलाई पनि रोक्न प्रयास गरिन्छ । नियमित बनाउन तर्फ एउटाले पहल गर्छौ, अर्को तगारो बन्छ । यस्तै–यस्तै कारणले गर्दा २०११ सालमा स्थापना भएको एयरपोर्ट ओझेलमा पर्दै आएको छ । एयरपोर्टमा दुई वटा जहाजले उडान भरिरहेका छन् । यसले पनि पछिल्लो समय दाङ–काठमाडौं हवाई सेवालाई सहज बनाएको छ । प्रतिस्पर्धा सुरू भएको छ । निजि र सरकारीबीचको प्रतिस्पर्धा हुनु यहाँका लागि सकारात्मक कार्य हो । नेपालकै पुरानो विमानस्थलका रूपमा रहेको टरिगाउँ एयरपोर्टलाई सबै तिरबाट उपेक्षा पर्ने गरेको छ । बजेट पनि न्यून पर्छ । त्यहाँका संरचना पनि निकै पुराना छन् । एयरपोर्टको धावनमार्ग विस्तार पनि हुन सकेको अवस्था छैन । यद्यपी यो प्रक्रिया अगाडी बढ्ने चरणमा छ ।
केही दिन अघि मात्रै नागरिक उड्डयन प्राधिकणले चार वटा विकल्प दिएर डीपीआर तयार गरेको छ । ति चार विकल्प मध्ये एउटा विकल्प छानेर एयरपोर्टको धावनमार्ग विस्तार गर्नुपर्ने छ । अहिले ७५० मिटर मात्रै लम्बाई रहेको एयरपोर्टको धावनमार्ग विस्तारको यो प्रयास निकै प्रशंसनीय छ । यस अघि पनि डीपीआरका नाममा धेरै इन्जिनियरहरू आए । तर, उनीहरूलाई प्रभावमा पारेर एयरपोर्टको धावनमार्ग विस्तार गर्न नसकिने जस्ता प्रतिवेदन तयार भए । तर,अहिले एयरपोर्टको धावनमार्ग विस्तार गर्न सकिने गरि प्रतिवेदन आएको छ । यसमा कतैबाट दवाव र प्रभाब भएन भने विस्तारको चरण अघि बढ्नेछ । अब एयरपोर्ट विस्तारकालागि यस क्षेत्रका सरोकारवार निकाय तथा नागरिकहरू जुट्नु पर्ने बेला आएको छ ।
यस क्षेत्रमा सम्भव हुने एउटा विकल्प रोज्ने र काम अगाडी बढाउने नै अबको कदम हुनसक्छ । कसैको दवाव र प्रभाव भएन भने डीपीआर अनुसार सरकारले बजेट पठाउने छ । यदि बजेट सरकारले पठाएन भने जस्तो सुकै आन्दोलन गर्न पनि तयार हुनुपर्छ । किनकी दाङको भविष्यसंग टरिगाउँ एयरपोर्ट जोडिएको छ । बजेट ल्याउने र त्यसलाई कार्यान्वयनको चरणमा पनि अघि बढाउनकालागि हाम्रो नियमति दवाव आवश्यक पर्छ । साभारः अग्रिम साप्तहिक
लाइभदाङ । १५ फाल्गुन २०७९, सोमबार १३:२३ बजे