वडा सदस्य चौधरीको उपचारको लागि आर्थिक सहयोग

तुलसीपुर, ५ फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर – ११ का वडा सदस्य तिलकराम थारुको उपचारको लागि सहयोग अभियान सुरु गरिएको छ । गम्भीर घाइते भएकोमा उपचारको लागि आर्थिक अभाव हुदा सहयोग उठाउन थालिएको हो । टाउकामा गम्भीर चोट रहेको र उनको नेपालगन्जमा आइसियु कक्षमा उपचार भईरहेको छ ।

शुक्रबार मात्रै विभिन्न ब्यक्तिहरुबाट सहयोग उठेको छ । यसैक्रममा अमर माध्यमिक विद्यालय परिवारबाट ६९ हजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको छ । विद्यालयका शिक्षक खोपिराम अधिकारीले १० हजार, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतले ५ हजार, प्रधाध्यापक पदम बहादुर वलीले ५ हजार,शिक्षकहरु यज्ञबहादुर अधिकारीले ५ हजार,देव नारायण भण्डारीले ५ हजार, निर्मल कुमार वलीले ५ हजार गरि जम्मा ६९ हजार ५ सय सहयोग गरेका छन् ।


यस्तै , वडा कार्यालय परिवारबाट ३१ हजार १ सय सहयोग उठेको छ । वडाध्यक्ष मान बहादुर रावतले १० हजार, वडा सदस्यहरु यज्ञबहादुर बस्नेतले ५ हजार १ सय, प्रभा परियारले ३ हजार, कमला चौधरीले ३ हजार सहयोग गरेका छन । यस्तै मोतिपुर निवासी तिलकबहादुर बस्नेतले ५ हजार सहयोग गरेका छन । फागुन ३ गतेका दिन मोटरसाईकल दुर्घटनामा परि उनी सहित सोहि ठाउका मनिराम चौधरी पनि घाइते भएका थिए ।