जनतालाई अनुभूति हुने गरी प्रदेश सरकार काम गर्न प्रतिबद्ध छ : मुख्यमन्त्री गिरी

भालुवाङ, ३ फागुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले जनताको नजिकको सरकारका रुपमा रहेको प्रदेश सरकार जनआकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

प्रदेश सरकारको छैठौँ स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री गिरी संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको उल्लेख गर्दै संविधानको मर्मलाई आत्मसात गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको बताएका हुन् ।

‘पाँचवर्षमा हामीले प्रदेश सरकारलाई नागरिकले सुन्ने र देख्ने विन्दुमा ल्याइपुर्याएका छौँ, संघीयताको असली कार्यान्वयन गर्दै सबैले अनुभूति गर्ने बनाएका छौँ’ मुख्यमन्त्री गिरीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । , ’बितेका पाँच वर्षमा संघीयता कार्यान्वयनको सन्दर्भमा भएका कार्यलाई निरन्तरता दिँदै प्रदेश सरकारले विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दूमा राखेर ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनी’ को लक्ष्यलाई कार्यान्वयन गर्न दत्तचित्त रहेको छ, शुभकामना सन्देशमा भनिएको छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवन पद्दतिका रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद् अनुभूति गर्न पाउँछन् भन्ने मान्यतालाई स्थापित गर्न प्रदेश सरकार लागिपरेको शुभकामना सन्देशमा उल्लेख छ।


राजधानीको निर्णय कार्यान्वयन गर्दै राप्ती उपत्यका देउखुरीमा सुन्दर र समृद्ध राजधानी निर्माणको अभिभारा सरकारले लिएको बताएका छन् । ’पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैँ यतिबेला स्थायी राजधानी स्थल राप्ती उपत्यका देउखुरीबाट उसैगरी शून्यबाट राजधानी व्यवस्थापनको कार्यको थालनी गरेका छौँ’ शुभकामना सन्देशमा भनिएको छ ।

’नदी सभ्यतामा आधारित समुन्नत र योजनाबद्ध सहरसहितको व्यवस्थित राजधानी निर्माण गर्ने कामलाई पूरा गर्ने संकल्प लिएका छौँ। मिनी नेपालका रुपमा लुम्बिनी प्रदेशलाई व्यवस्थित गर्नेतर्फ हाम्रा योजना र कार्यक्रम केन्द्रित रहेका छन्, मुख्यमन्त्री गिरीद्वारा जारी सन्देशमा भनिएको छ ।