माओवादीहरु एक ठाउँमा आउनुको विकल्प छैन: अपार

तुलसीपुर,१ फागुन । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य जगप्रसाद शर्मा‘अपार’ले माओवादीहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताए ।

जनयुद्धकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भइ कार्यान्वयनको चरणमा रहेको भन्दै यसलाई संस्थागत र रक्षा गर्न सबै माओवादीहरु एकजुट भएर लाग्नु पर्ने बताए ।

जनयुद्धको सम्मान तथा समाजवादी अध्यययन केन्द्रले २८ औं जनयुद्ध दिवसको अवसरमा तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अबको एक डेढ महिनामा पार्टी एकताको सन्दर्भमा नयाँ कोर्ष सुरु हुनेगरि अगाडी बढिएको समेत उनले जानकारी दिए । उनले सबै माओवादी घटकहरु भावनात्मक रुपमा पनि एक भएर जानुपर्ने बताए ।


कार्यक्रममा बैद्य निकट नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणी दुःखीले माओवादी एकता गर्नेमा मुख्य जिम्मेवारी प्रचण्ड नै रहेको भन्दै प्रचण्ड जनता तर्फ फर्किए एकता हुन सक्ने बताए ।

कार्यक्रममा नेकपा बहुमतका जिल्ला कार्यालय सदस्य अमर खड्काले सबै माओवादीहरु एकजुट हुुनपर्ने बताएका थिए । त्यस अवसरमा जनयुद्धका घाइते,सहीद तथा वेपता परिवारहरुले पनि माओवादीहरुले एउटै एजेण्डा लिएर जनयुद्ध गरेको भन्दै त्यसको रक्षागर्न एकजुट हुनुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण केन्द्रका सचिब इश्वरीप्रसाद गैरेले गरेका थिए ।