लुम्बिनीमा मुख्यमन्त्री र तीन मन्त्रीले लिए शपथ

बुटवल, २५ चैत ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेचरनसमक्ष मुख्यमन्त्री महरा र अन्य तीन जना विनाविभागीय मन्त्रीहरुले शपथग्रहण गरेका हुन् ।

एमाले, माओवादी, नागरिक उन्मुक्ति, जसपा, नेकपा एकिकृत समाजवादी र एक स्वतन्त्रसहित ४८ प्रदेश सभा सदस्यको समर्थनमा शुक्रबार संविधानको धारा १६८ को उपधारा २ अनुसार महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

आइतबार मुख्यमन्त्री महराले पद तथा गोपनीयताको शपथ लिएसँगै समर्थक दलहरुलाई समेटेर मन्त्रिपरिषद् समेत विस्तार गरेका छन् । मुख्यमन्त्री महरासँग एमालेका चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरले पनि मन्त्रीको शपथ लिएका हुन् ।


मन्त्रालयहरुको भागबण्डा टुंगो नलागेकाले मन्त्रीहरुले भने विनाविभागीय हुन् । मुख्यमन्त्री महरा यसअघि अर्थ मन्त्री बनेका थिए । एमालेका आचार्य प्रदेश सभामा अर्घाखाँचीबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएर तेस्रो पटक मन्त्री बनेका छन् । त्यस्तै जसपाका भण्डारीलाल अहिरले बिहीबार मात्र कृषि तथा भुमि व्यवस्था मन्त्रीबाट राजीनामा दिएका थिए ।

अहिले लुम्बिनी प्रदेशमा १० मन्त्रालय छन् । सत्तागठबन्धनका दलहरुले मन्त्रालय थप गर्ने गरी पनि छलफल गरिरहेका छन् ।

माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि थप मन्त्रीमण्डल विस्तार गरिने बताए । विनाविभागीय मन्त्रीलाई कुन मन्त्रालय कसलाई दिने भन्नेबारेमा गठबन्धन दलबीच थप छलफल गरेर जिम्मेवारी तोकिने उनको भनाइ छ ।