दलालले यसरी ठग्दै थिए दाङकी रवीना र जसमतिलाई

दीपक बोहरा
दाङ,२६ माघ ।

विदेशमा पसिना बगाएर देश चलाउन ‘रेमिट्यान्स’ पठाउने श्रमिक वैदेशिक रोजगारीमा जाँदा मात्रै ठगिँदैनन्, रोजगारीका क्रममा ज्यान गुमाएकाको शवमाथि पनि दलालहरूले गिद्धेदृष्टि राख्छन्, मृतकका परिवारले पाउने सहायता रकममा दलालले कमिसन खाने र बिमाबापतको रकममा बिमा कम्पनीले ठगी गर्छन् ।

वैदेशिक रोजगार बोर्डबाट पाउने रकममा कमिसन खान दाङकी रविना घर्तीमगरको घरमै पुगे दलाल । पति गंगाबहादुरको मृत्युपछि वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट पाउने क्षतिपूर्ति रकम उपलब्ध गराइदिने भन्दै दलालहरूले रविनालाई काठमाडौं लगे । बोर्डबाट पाउने सात लाखबाट दुई लाख र बिमा कम्पनीले भुक्तानी गर्ने १४ लाखबाट पाँच लाख कमिसन खाने उनीहरूको योजना थियो । सबै तयारी साथ उनीहरूले रविनालाई खाता खोल्न बैंकसम्म पनि पु¥याइसकेका थिए । तर, त्यही वेला आएको एउटा फोनमा ती व्यक्तिहरू दलाल भएको र ठग्न खोजेको सूचना पाएपछि उनी खाता नखोली उम्किएर घर फर्किन् ।

उनका श्रीमान घोराही उपमहानगरपालिका– १३ सेवारका २६ वर्षीय गंगाबहादुर घर्तीमगर रोजगारीका लागि कुवेत गएका थिए। उनी गत साउनमा कम्पनीले दिएको छुट्टीमा घर आएका थिए । २७ साउनको राति खाना खाएर सुतेका उनी बिहान उठेनन् । नौ महिनाको छोरा र २१ वर्षीया श्रीमती रविनालाई छाडेर उनी सधैँका लागि बिदा भए ।

श्रीमानको अन्तिम संस्कारको काम सकेपछि रविना संघर्षका पहाड सम्झिएर सुस्ताउँदै थिइन् । असोजको अन्तिमतिर दुई अपरिचित उनको घरमै पुगे । उनीहरूले रविनालाई गंगाबहादुरले सरकारबाट सहायता रकम पाउने सुनाए । कमाइ गरेर पाल्ने श्रीमानको देहावसान भए पनि उनकै नाममा सरकारबाट आर्थिक सहयोग पाउने सुनेर रविनालाई केही राहत महसुस भयो । ती व्यक्तिले सहायता प्राप्त गर्न काठमाडौं जानुपर्ने पनि बताए । रविना दुई दाइ र जेठानीसमेत साथमा लिएर काठमाडौं गइन । काठमाडौं गएपछि ती दुई व्यक्तिले ‘वैदेशिक रोजगार बोर्डले दिने सात लाख रुपैयाँबाट दुई लाख र बिमा कम्पनीले भुक्तानी गर्ने १४ लाखबाट पाँच लाख आफूहरूलाई दिनुपर्ने’ प्रस्ताव राखेको रविनाले बताइन् ।

भोलिपल्ट दलालहरूसँगै रविना वैदेशिक रोजगार बोर्ड पुगिन् । बोर्डले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न पठायो, नयाँ बानेश्वरस्थित बैंकको शाखामा पुगिन् । त्यही वेला उनलाई ‘सामी कार्यक्रम’ दाङकी संयोजक बसान्ता पुनको फोन आयो । रविनालाई दलालहरूले फसाउन लागेको सूचना पाएकी बसान्ताले त्यसबारे जानकारी गराउँदै तुरुन्त दाङ फर्किन सल्लाह दिइन् ।

‘बसान्ताको फोनपछि छाँगाबाट खसेझैँ भएँ । कतै दलालले ज्यान नै लिने पो हो कि भन्ने पनि डर लाग्यो,’रविनाले भनिन्‘तर, उनीहरूसँग तत्काल कुनै प्रतिक्रिया नजनाई उम्किने सोच बनाएँ ।’ त्यसपछि उनले खाता खोल्न आनाकानी गरिन् । होटेलमा कागजपत्र छोडिएको बहाना बनाएर होटेल फर्किने निधो गरिन् । तर, उनी चढेको गाडीमा दलालहरू पनि चढे । ‘होटेलसम्म पुग्दा उनीहरूले पिछा गरे । होटेलको आफ्नो कोठामा छिरेपछि बाहिर निस्किनँ । उनीहरूलाई विभिन्न बहाना बनाउँदै आलटाल गरेँ,’रविनाले घटनाबारे सुनाइन्, ‘भोलिपल्ट दाङ फर्किएँ ।’

दलालको पन्जाबाट उम्किएकी रविनाले ‘सामी कार्यक्रम’को सहयोगमा वैदेशिक रोजगार बोर्डबाट सात लाख पाइसकेकी छिन् । नेसनल लाइफ इन्स्योरेन्सबाट पाउनुपर्ने १४ लाखका लागि भने दाबीसहित कागजपत्र पेस गरेकी छिन् । ‘विमाको लागि कात्तिकमै कागजपत्र बुझाएको हो, तर अहिलेसम्म पैसा पाएको छैन,’ उनले भनिन् ।

पतीवियोगमा पर्नुभन्दा नौ महिनाअघि नै ससुरा गुमाएकी रविनाले श्रीमान्को मृत्युको चार महिनापछि सासु पनि गुमाइन् । उनीसँग केबल काखे छोरो मात्रै छन् । माटो र ढुंगाको गारो भएको भत्किन लागेको घरमा उनीहरू बस्दै आएका छन् ।


वैदेशिक रोजगारीमा मृत्यु भएका नेपाली श्रमिकको परिवारले वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट पाउने क्षतिपूर्ति रकममा दलालहरूले कसरी ठगी गर्छन् वा प्रयास गर्छन् भन्ने रविना एक उदाहरण मात्रै हुन् । यस्ता दर्जनौँ पीडित छन् । मृत्यु भएकाको परिवारले पाउने क्षतिपूर्तिमा बाह्य दलाल मात्रै होइन, बिमा कम्पनीकै पनि दलाली चलेको छ ।

जसमतिको पनि त्यस्तै सास्ती
दाङका हिमबहादुर थापाको पनि कतारबाटै छुट्टीमा घर आएका वेला गत असोजमा खोलाले बगाएर मृत्यु भयो । हिमबहादुरको मृत्यु भएको थाहा पाएपछि केही महिनापछि उनको घरमा दलालहरू पुगे । ‘बिमा र बोर्डबाट पाउने रकम दिलाइदिन्छौँ भन्दै दलालहरू घरमा आएका थिए,’ श्रीमती जसमतीले भनिन्, ‘तर, दलाल पुग्नुअघि नै मैले सहायता लिने प्रक्रियाबारे बोर्डबाट सबै जानकारी लिइसकेकाले उनीहरूको सहयोग अस्वीकार गरिदिएँ ।’

सामी कार्यक्रम दाङकी कार्यक्रम संयोजक बसान्ता पुनले दलालहरू गाडी लिएर घरमै आइपुग्ने बताइन् । उनीहरूले ५० प्रतिशतसम्म खाने गरेको उनको भनाइ छ । ‘सरकारले दिने राहत र बिमाबापत पाउने रकमबारे सोझासीधा मानिसलाई थाहा हुँदैन । त्यसको फाइदा उठाएर दलालले बोर्डबापत पाउने रकमबाट कम्तीमा पाँच लाख रुपैयाँ ठगी गर्छन् । बिमा कम्पनीले पनि भुक्तानी गर्नुपर्ने रकमबाट जबर्जस्ती परिवारका सदस्यलाई बिमा गर्न लगाएर ठग्ने गरेका छन् । कार्यक्रमको सिलसिलामा गाउँमा पुग्दा यसरी ठगिएका धेरै भेटिन्छन’,उनले भनिन् ।

मृतकका परिवार र घाइतेले के–के पाउँछन् सुविधा ?
वैदेशिक रोजगार नियमावली, ०६४ को दफा २८ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएका कामदारको श्रम अवधिमा मृत्यु भएमा परिवारले वैदेशिक रोजगार बोर्डबाट सात लाख रुपैयाँ सहयोग पाउने व्यवस्था छ ।

त्यस्तै, मृतकका छोराछोरीले आठ कक्षासम्म अध्ययनका लागि वार्षिक आठ हजार र सोभन्दा उपल्लो तहमा अध्ययनरत भए वार्षिक १२ हजार सहयोग पाउँछन् । त्यस्तै, मृतक कामदारको श्रीमान्रश्रीमती, छोराछोरी, आमा र बुबाले पाँच प्रकारका घातक रोग (किड्नी फेल, मुटुरोग, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स)मा ५० हजार रुपैयाँसम्म उपचार खर्च पाउँछन् । मृतकको शव बोर्डले घरसम्मै ल्याइदिन्छ भने दाहसंस्कारका लागि परिवारलाई २५ हजार रुपैयाँसम्म उपलब्ध पनि गराउँछ ।

वैदेशिक रोजगारीका क्रममा घाइते भएका कामदारले पनि स्वास्थ्य अवस्थाअनुसार न्यूनतम सात हजारदेखि अधिकतम सात लाख रुपैयाँसम्म आर्थिक सहयोग पाउँछन् । मृतक कामदारका परिवारले वैदेशिक रोजगारी म्यादी जीवन बिमाबापत कम्तीमा १० लाखदेखि बढीमा १४ लाख रुपैयाँसम्म ९मृतकको उमेर र श्रम स्वीकृतिको अवधिअनुसार० पाउने वैदेशिक रोजगार बोर्डले जनाएको छ । कम्पनीले बिमितको उमेरअनुसार बिमा रकम भुक्तानी गर्छ । १८ देखि ३५ वर्षका कामदारले तीन हजार सात सय आठ रुपैयाँ, ३६ देखि ५० वर्षका कामदारले चार हजार नौ सय ३१ रुपैयाँ र ५० देखि ६० वर्षका कामदारले नौ हजार चार सय ६३ रुपैयाँ बिमाशुल्क भुक्तानी गर्नुपर्छ । त्यस्तै, वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको कल्याणकारी कोषमा १५ हजार जम्मा गर्नुपर्छ । श्रम स्वीकृति अवधि सकिएका कामदारले भने यी कुनै पनि सुविधा पाउँदैनन् ।

नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७९र८० को मंसिर महिनासम्म वैदेशिक रोजगार म्यादी जीवन बिमाबापत कम्पनीहरूले एक अर्ब ४३ करोड ९४ लाख बिमाशुल्क संकलन गरेका छन् । समीक्षा अवधिसम्ममा कम्पनीहरूमा १२ लाख ४९ हजार सात सय ६२ पोलिसी कायम छ । मंसिरमा मात्रै कम्पनीहरूले ६५ हजार आठ सय १५ पोलिसी जारी गरेको छ । पोलिसी बिक्री गरेबापत कम्पनीहरूले २७ करोड ५७ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् भने एक खर्ब ४६ अर्ब ३६ करोडको दायित्व बहन गरेका छन् ।

तीन वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका कामदारमध्ये तीन हजार एक सय ९९ कामदारले विदेशमै ज्यान गुमाएका छन् । ०७८र७९ मा मात्रै एक हजार तीन सय ९५ कामदारले ज्यान गुमाए । जसमध्ये पुरुषको संख्या एक हजार तीन सय ५६ छ भने ३९ महिला छन् । स्रोतः नयाँ पत्रिका