५ बर्ष अघि सिलन्यास भएको पुल अलपत्र

तुलसीपुर,१७ माघ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं.१३ गिधनिया स्थित तुईखोलामा ५ बर्ष अघि पुल सिलन्यास भएको हो । सोही खोलामा सवारी आवतजावतकालागि पुल निर्माण कार्य थालिएको भएपनि अहिले अलपत्र अबस्थामा छ । पुल निर्माण नहुदाँ स्थानीयले सास्ती भोग्दै आएका छन ।“अहिले त गाडी आवतजावतमा सहज नै छ”, स्थानीय सुन्दर चौधरीले भन्नुभयो“वर्षायाममा भने जोखिम मोलेर खोला तर्न बाध्य छौं ।”

पुल नहुँदा मान्छेलाई बगाउने समेत गरेको उहाँले बताउनुभयो । पुल निर्माण नहुँदा गिधनिया, आमखोली, मजगटुवाका ४ सय घरधुरीले सास्ती भोग्नु परेको छ । स्थानीय गोविन्द सुवेदीका अनुसार २०७४ सालमा उक्त पुल उद्घाटन भएको हो । प्रदेशसभा सदस्य डिल्ली बहादुर चौधरीले उक्त पुल उद्घाटन गर्नुभएको हो ।


स्थानीय सडक पुल आयोजना अन्र्तगत आर्थिक बर्ष २०७३/०७४ मा ६ करोड ८२ लाख बजेट विनियोजन गरिएको थियो । सडक डिभिजन दाङका सूचना अधिकारी रिकेश महर्जनका अनुसार उक्त पुल निर्माणको लागी ठेक्का मार्फत एडभेन्चर जेभि नेपालगञ्जले जिम्मा पाएको थियो । ०७४ जेठ २२ मा योजना सम्झौता भएको थियो । सोही सम्झौता अनुसार २०७६ असोज २१ काम सक्ने गरि सम्झौता भएपनि उक्त पुल अलपत्र अबस्थामा छ । पुल समयमा निर्माण नहुँदा चौथो पटक सम्म म्याद थपिएको छ । तर, पनि काम अघि बढ्न सकेको छैन ।

कोरोना,खरिद ऐन सहित निर्माण ब्यवसायीले काम ढिला गर्दा यस्तो समस्या आएको हो । उक्त पुलमा अहिले दुई वटा पिल्लर मात्रै निर्माण गरिएको छ । त्यो भन्दा अघि काम बढ्न सकेको छैन । साभारः अग्रिम साप्ताहिक