शहरी विकास कार्यालय दाङका तत्कालिन प्रमुख पाण्डेलाई भ्रष्टाचारको आरोप

दाङ,१७ माघ । शहरी विकाश तथा भवन डिभिजन कार्यालय दाङका तत्कालिन प्रमुख राजेन्द्र प्रसाद पाण्डे विरुद्ध भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरिएको छ । सल्यान त्रिवेनीको रिखेबगरदेखि दाङको बाघमारे जोड्ने सडकमा डिजाईन र नम्र्स विपरित उपभोक्ता समितिलाई बढि रकम भुक्तानी गरेको भन्दै उक्त रकम असुल उपर गर्न माग दावी लिईएको छ ।

कार्यालयबाट विनियोजन भएको रकममा प्राबिधिक र निर्माण समितिको मिलेमत्तोमा आफ्नो अनुकुल स्टिमेट परिबर्तन गरि रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालिन कार्यालय प्रमुख पाण्डेसहित तत्कालिन इन्जिनियर सन्तोष कुमार यादव, तत्कालिन सव इन्जिनियर नारायण वलीले उपभोक्तासंग भएको सम्झौताको शर्त र स्वीकृत लागत अनुमान विपरित भेरिएसन स्वीकृत नगरि आफूखुसी निर्माण कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।


साथै सोही कार्यको मूल्यांकन विल,नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरि योजनाको स्वीकृत लागत भन्दा बढि ४३ लाख २२ हजार एकसय ५५ भुक्तानी दिईएको पाईएको छ । आर्थिक बर्ष २०७४/०७५ मा सोही बजेट परेको थियो । स्वीकृत लागत भन्दा बढि भुक्तानी गरिएको रकमलाई विगो कायम गरि सोही विगो असूल उपर गर्न माग दावी गर्दै बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

हिनामिनामा उपभोक्ता समितिका अध्यक्ष मनबहादुर खत्री, कोषाध्यक्ष शोभाकुमारी खत्री, सचिब लालबहादुर केसीको पनि संलग्ना रहेको भन्दै आरोपपत्र दायर गरिएको हो ।